उद्योगी व्यवसायीको एक स्वर, तोकिएकै मितिमा चुनाव होस, दलहरु निर्वाचनमा जाउन्

1.41k
Shares

बुटवल। 

मुलुकमा शान्ति र विकासका लागि राजनीतिक स्थिरतामा जोड दिँदै उद्योगी व्यवसायीहरुले तोकिएकै मितिमा चुनाव हुनुपर्ने र उक्त चुनावमा राजनीतिक दलहरु सहभागि हुनुपर्ने धारणा राखेका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सोमबार सम्पन्न ७२ औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्ने उद्योगी व्यवसायीहरुले सधैभरी भइरहेका आन्दोलन र राजनीतिक अस्थिरताले मुलुकलाई पछाडि धकेल्नुका साथै लगानीको समेत असुरक्षा बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । 

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा निजी क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गर्दै स्थानीय सरकार निजी क्षेत्रसंग हातेमालो गरेर अगाडि बढेको बताए । उनले यस क्षेत्रको आर्थिक, सामाजिक विकासका लागि निजी क्षेत्रले अगाडि सारेका योजना कार्यान्वयमा प्रतिवद्ध रेहेको बताए । 

त्यसैगरी उपप्रमुख सावित्रादेवी अर्यालले जेन–जी आन्दोलनमा क्रममा भएका अपराधिक गतिविधिमा संलग्नलाई पहिचान गरि कारवाहीको दायरामा ल्याउनु पर्ने भनाई राखिन् । 

नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्यले सरकारले तोकेकै मितिमा निर्वाचन हुनुपर्ने र उक्त निर्वाचनमा दलहरु सहभागि हुनुपर्ने पनि भनाई राखे । त्यसैगरी पुराना दलहरुलाई गाली गर्ने प्रवृत्ति पनि हटाउनु पर्ने भनाई राखे । 

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका बस्तुगत उपाध्यक्ष हेमराज ढकालले उत्पन्न परिस्थितीलाई सहज बनाउँदै सरकारले घोषणा गरेको घोषित मितिमा चुनाव गराउने गरी तयारी हुन सरकार र राजनीतिक दलहरुलाई आग्रह गरे । 

नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले अहिले निजी क्षेत्रका लागि प्रतिकुल समय रहेको बताउँदै सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसंग माग गरे । 

कार्यक्रममा स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि संघले गरेका पहल तथा प्रयासहरुको बारेमा जानकारी गराएका थिए । संघका पूर्वअध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ ,सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचाय उद्योग व्यापार संघका अध्यक्ष विष्णुप्रसाद पाण्डे, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, व्यवसायी राजु पौडेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले औद्योगिक विकास आथिर्क चलायमान बढाउनका लागि सोही अनुसारको नीतिगत व्यवस्था सहित उद्योगी व्यवसायीलाई लगानीको सुरक्षा र भरपर्दो शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरे ।

संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्ति अधिकारी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।