रौतहट ।
जमेको पानीमा डुबेर सोमबार तीन जना बालिकाको मृत्यु भएको छ भने चार जनाको जीवितै उद्धार भएको छ । गौर नगरपालिका वार्ड नम्बर १ कानुपट्टी स्थीत भित्री सडक खण्डमा जमेको बाढीको पानीमा डुबेर राजदेवी नगरपालिका वार्ड नम्बर ०८ लक्ष्मीपुर टोल निवासी १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जीवितै उद्धार हुनेमा १३ वर्षीय मुस्कान कुमारी, १० वर्षीय चन्द्रमुखी कुमारी राम, १५ वर्षीय सुनिता कुमारी बैठा र १० वर्षीय मुस्कान कुमारी बैठा रहेका छन । गौर तर्फको खेतको घाँस काट्न आउने क्रममा बाढीको पानी जमेको खाल्डामा अनुमान गर्न नसक्दा उनीहरुको मृत्यु भएको हो । सात जनाको समूहमा घास काट्न आएका उनीहरुले खाल्डोको पानीको अन्दाज गर्न नसक्दा तीन जनाले अकालमा ज्यान गुमाउनु परेको छ ।
गत साता परेको अबिरल बर्षाको पानी जिल्लाको विभिन्न सिमसार तालहरु र खाल्डामा जमेको कारण अनाहकमा डुबेर बालबालिकाको मृत्यु हुने गरेको छ । बालिकाको टोली पानीमा डुबेको सूचना पाए पछि भन्सार सुरक्षा गार्ड गौर, जिल्ला प्रहरी कार्यालय गौर,सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको संयुक्त टोली उद्धारको लागि परिचालन भएको थियो । प्रहरी उपरीक्षक नेत्रमणि गिरीले बालिकाहरु डुबेको जानकारी पाएलगतै सुरक्षाकर्मीहरु उद्धारमा खटिएको बताए।











प्रतिक्रिया