भूकम्पले हल्लाएकाे  भवनमा १० वर्षदेखि टेको लगाएर  पठनपाठन

4.79k
Shares

धादिङ । 

२०७२ वैशाख १२ को भूकम्पले थिलथिलाे पारेर जोखिमपूर्ण भएको विद्यालय भवनमा अहिलेपनि पढाइ सञ्चालन भइरहेको छ ।दक्षिणी धादिङको   बेनिघाट रोराङ गाउँपालिका वडा नं १० खोरभन्ज्याङमा अवस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा अहिले पनि चर्किएकै भवनबाट बालबालिका पढाउन बाध्य छ विद्यालय । 

यति ठुलाे भवन बनाउन स्थानीय सरकारसंग क्षमता छैन । दातृ निकायलाई अवस्था दर्साएर अनुरोध गर्दा १० वर्ष भईसक्दापनि विद्यार्थी जाेखिम भवनमा बसेर पढ्न बाध्य छन् । 

  फुटेको पर्खाल, चुहिने र चिरा परेको ढलानमुनि जोखिम मोलेर ३०० भन्दा बढी बालबालिकाले दैनिक अध्ययन गरिरहेका छन् । १० कोठे भवन थिलथिलो भएको छ । फलामको टेकोले अड्याएर राखिएको छ।  तर, पुननिर्माणको आशामा दशकदेखि कुर्दा कुर्दा अभिभावक र विद्यार्थी समेत थाकिसकेका छन् । 

 स्थानीय अभिभावक डोल्मा कुमारी चेपाङ भन्छिन् “हामीले यही विद्यालयबाट बालबच्चाको भविष्य खोजेका हौ तर सानो मौसमी बदली हुँदा पनि २०७२ सालको त्रासले सताउँछ” ।

जिल्लामा बिपतमा परेका संरचना निर्माणको लागि डिएलपिआईपी खडा गरेर विद्यालय निर्माण भए तर बेनिघाट रोराङ १० खोरभञ्ज्याङको भत्किएको १० कोठे भवन निर्माणमा कुनै चासो दिईएन जिर्ण वन्दै गैरहेको संरचना कति खेर भत्कने हो भन्ने त्रासमा शिक्षक विद्यार्थी अभिभावक सधै चिन्तित रहनु पर्ने बाध्यतामा छ । 

 गत वर्ष प्रदेश सरकारबाट भौतिक सबलीकरण अन्तर्गत ८ लाख बजेट विनियोजन भएको थियो । पिल्लर उठाएर राखिएको छ तर उक्त भवन बनाउन कही कतैबाट सहयोग पाउन सकिएन । 

गाउंपालिकाले मर्मत गरेर पानी चुहिन छाडेपनि ठुलाे भवन अाफैँले बनाउने क्षमता नभएकाेले प्रदेश सरकारलाई पटक पटक आग्रह गर्दा पनि हालसम्म पनि टेको लगाएर विद्यार्थी पढ्नु परेकाे गाउँ पालिका अध्यक्ष  कृष्णबहादुर  थपलिया  (विवेक) ले बताए । 

यो क्षेत्रबाट संघीय र प्रदेश तहमा मन्त्री बनेका नेताहरुले पटकपटक विद्यालय पुननिर्माणको वाचा गरेका थिए । 

गाउँमा भाेटमाग्न आउँदा भवन बनाउँन सघाउँछु भनेर भोट मागेका थिए तर काम नगरेपछि विद्यार्थीहरू टेका लगाएको जोखिमपूर्ण भवनमा बसेर पढ्न बाध्य छन्। 

भूकम्प गएपछि विद्यालय अनुगमनमा क्षतिको अवस्था बुझ्न आएकाे टाेलीले भवन जाेखिम छ भनेर राताे स्टिकर टाँसेकाे थियाे । जिर्ण भवनकाे १० काेठा मध्ये ८  काेठामा विद्यार्थी पढ्छन् । २ काेठामा अफिस सञ्चालन गरिएको छ । धेरैजसाे काेठामा पानी चुहिने भएपछि गाउँपालिकाकाे सहयाेगमा मर्मत गरेर पानी चुहिन रोकिएको छ । कक्षा ९ र १० लाईभित्रबाट टेका लगाएर अड्याइएकाे छ । यही काेठामा १० वर्षदेखि विद्यार्थी पढिरहेकाे प्रधानाध्यापक गणेश अर्यालले बताए । 

 संघीय सांसद राजेन्द्र पाण्डे, निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कटेल, हालका गरिबी निवारण मन्त्री मधु श्रेष्ठजस्ता नेताहरुले “यस पटक बजेट पर्छ” भन्ने वचन दिएका थिए तर चालु आर्थिक वर्षको बजेटमा याेजना नै परेन । पूर्वमन्त्री पाण्डेले विद्यालयमै आएर विद्यार्थी सुरक्षित हुने भवन बनाउने वचन दिएपनि भाेटलिएर चुनाव जितेपछि जनताले गरेकाे माग सुनुवाई नै नगरेकाे अभिभावकहरुकाे भनाई छ । 

  आश्वासन मात्र दिने काम नगर्ने गरेको र विद्यालयप्रति उपेक्षा गरिएको विद्यालयका शिक्षकरुकाे आक्राेश छ ।

 बेनिघाट रोराङ गाउँपालिकामा प्रदेश सरकारको श्रोत राम्रै मात्रामा पुगेको देखिन्छ तर वडा नं १० मा रहेको यो विद्यालयजस्तो आधारभुत आवश्यकताको संरचना भने छुटाइएको छ । 

बेनिघाटराेराङ गाउँपालिकाले टेका लगाईएकाेभवनकाे मर्मत गर्न सघाएको छ । तर विद्यालय भवन निर्माणमा काम गर्ने र गरिरहेका निकायहरु भने चर्का कुरा गरे पनि काम नगरेकाे पाईएकाे छ ।

अनावश्यक योजनामा बजेट परेको छ तर जोखिममा परेका बालबालिकाको विद्यालयमा सरकार र सरोकारवालाको आँखा किन नपुगेको ? भन्ने प्रश्न आम समुदायको छ ।

यस विद्यालयमा अध्ययनरत करिब ८० प्रतिशत विद्यार्थीहरू सिमान्कृत चेपाङ,दलित र अन्य विपन्न समुदायबाट आएका छन् । सुरक्षित शिक्षा पाउने संवैधानिक मौलिक हक उनीहरुको हक मात्रै होईन, राज्यको जिम्मेवारी पनि हो ।

 “ खचाखच भरिएका कक्षाकोठा, चुहिने ढलान, जोखिमयुक्त संरचना देख्दा गणतन्त्रको अनुभूति जनताले कसरी गर्ने? राज्यका निकायहरु जिम्मेवार बन्नैपर्छ” शिक्षाका लागि राष्ट्रिय अभियानका जिल्ला संयोजक गोकर्ण रुपाखेतीले बताए ।

 सुरक्षित शिक्षा सुनिश्चित गर्न सरकार, दातृ निकाय र सबै सरोकारवालासंग सहयोगको अपिल गरेका छन्। 

राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले कति वर्ष पढ्नुपर्ने हो त्यो जोखिमपूर्ण भवनमा? अनि कहिले आउँछ सुरक्षित वातावरणमा कुनै त्रास विना ढुक्क साथ शिक्षा आर्जन गर्न पाउने अधिकार ?