काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो गौरवको योजना भन्दै हरेक शुक्रवार बुक फ्रि फ्राइडे अर्थात् पुस्तकरहित शुक्रवार कार्यक्रम घोषणा गर्नुभएको थियो ।
मेयरले घोषणा गरेको कार्यक्रम महानगरभित्रका सबै विद्यालयले उत्साहका साथ सञ्चालन गरे । तर, कार्यक्रम सञ्चालन भएको ९ महिना पुगिसक्दा एक रुपियाँ पनि निकासा भएको छैन । रकम निकासा नहुँदा विद्यालयलाई कार्यक्रम आयोजना गर्न हम्मेहम्मे भएको छ । कतिपय विद्यालयले त रकम निकासा नभएका कारण निरास हुँदै कार्यक्रम गर्नसमेत छाडिसकेका छन् ।
नेपाल शिक्षक महासंघ काठमाडौं महानगर समितिका अध्यक्ष राजेन्द्र अधिकारीले रकम निकासा नभए कार्यक्रम गर्ने नसक्ने अवस्था आउने बताउनुभयो । उहाँले भन्नुभयो– ‘तामझामका साथ प्रचारप्रसार गरियो, अभिभावकलाई बोलाएर विद्यार्थीको प्रतिभा देखाउन लगाइयो । कार्यक्रम सञ्चालन गर्न रकम अभाव भएको छ, गर्ने कि नगर्ने दोधारमा छौं ।’
उहाँका अनुसार कामपाले हालसम्म शिक्षक कर्मचारी तलब, पाठ्यपुस्तक र दिवा खाजाबाहेक कुनै पनि शीर्षकमा रकम निकासा गरेको छैन । ‘धेरै पटक ताकेता ग¥यौं, वास्तै भएन ।
आर्थिक अभावका कारण कार्यक्रम गर्नै समस्या पर्न थालेको छ’ –उहाँको भनाइ थियो । कामपाले पुस्तकरहित शुक्रवार कार्यक्रमअन्तर्गत १३ वटा कार्यक्रम सञ्चालित छन् । तीमध्ये विपद् व्यवस्थापन, चित्रकला, नृत्य, स्काउट, योगा, ट्राफिक व्यवस्थापन, संगीत, चरित्र निर्माणलगायत हुन् । अधिकांश कार्यक्रम प्रशिक्षक बोलाएर सञ्चालन गर्नुपर्छ, तर रकम नदिएका कारण समस्या परेको छ । साउनदेखि शुरू भएको ती कार्यक्रम वैशाख लाग्दासम्म भुक्तानी नभएपछि सबै विद्यालयले विरोध जनाएका छन् ।
पुस्तकरहित शुक्रवारबाहेक शिक्षामा सीप कार्यक्रमको समेत निकासा भएको छैन । शिक्षामा सीपअन्तर्गत १ लाख ८० हजारदेखि २ लाख २० हजार रुपियाँसम्म अनुदान दिने व्यवस्था छ । बुक फ्रि फ्राइडेको करिब १० लाख र अन्य गरी करिब १५ लाख रुपियाँ निकासा हुन सकेको छैन । यसका कारण कामपाभित्रका सबै सामुदायिक विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गतका कार्यक्रम सञ्चालन हुन कठिन छ ।
कामपा शिक्षा विभाग प्रमुख गोविन्द शर्माले निकासा हुने क्रममा रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘विभागले सबै विवरण पठाइसकेको छ, केही दिनमा निकासा होला ।’ कामपा प्रवक्ता नवीन मानन्धरले मेयर साहले कार्यपालिकाको बैठक नबोलाएका कारण भुक्तानी रोकिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– ‘विद्यालयको अतिरिक्त क्रियाकलापमा जाने बजेट ब्रेकडाउन नगरेका कारण समस्या भएको हो । ब्रेकडाउन गर्नुपर्छ, त्यसका लागि कार्यपालिकाको बैठक नबोलाई हुँदैन ।’
कार्यपालिकाको बैठक कहिले बस्छ त भन्ने प्रश्नमा प्रवक्ता मानन्धरले भन्नुभयो– ‘मेयर साबलाई सोध्नुस् ।’ उहाँले कार्यपालिकाका सबै सदस्यले पटकपटक कार्यपालिकाको बैठक बोलाउन आग्रह गर्दा मेयर साहले अटेर गरेको बताउनुभयो । उहाँले भन्नुभयो– मेयरकै कारण कामपामा धेरै काम रोकिएको छ । बजेट आउने वा नआउने भन्ने विषयमा अझै निश्चित भएको छैन ।’
विद्यालयलाई कार्यक्रम गर्न निर्देशन दिने मेयरले बजेट निकासा गर्नु पहिलो कर्तव्य हो, तर उहाँलाई केही मतलब छैन । मेयर साहकै कारण महानगर अस्तव्यस्त भएको अधिकांश कार्यपालिका सदस्यको आरोप छ । तलब, पुस्तक र खाजाबाहेक सबै निकासा रोक्दा महानगरभित्रका सबै विद्यालयको आर्थिक अवस्था दयनीय भएको छ । चालू आर्थिक वर्षमा कामपाले सञ्चालन गरेको नमुना र गौरवको योजना कार्यक्रमलगायत कुनै पनि शीर्षकमा बजेट निकासा नगरेका कारण सबै विद्यालयको आर्थिक अवस्था दयनीय भएको छ ।
महानगरमा माध्यमिक र आधारभूत तह गरी ८९ विद्यालय सञ्चालित छन् । त्यतिमात्रै होइन विद्यालयमा अतिरिक्त कार्यक्रम सञ्चालन गर्न सटर भाडामा लगाएर खर्च टारेका विद्यालयको सबै आम्दानी बन्द गरेको छ । यहाँसम्म कि भएका सटर सबै भत्काएर खेलमैदान र अन्य प्रयोजनमा उपयोग गर्न निर्देशन दिएको छ ।
कामपाले मेयरको गौरव, स्वर्ण, नमुना विद्यालय गरी झन्डै आधा दर्जन बढी लोकप्रिय कार्यक्रम सञ्चालन गरिरहेको छ । रकम अभावका कारण कहिलेसम्म कार्यक्रम सञ्चालन हुने हो अनिश्चित छ । कामपाले ती कार्यक्रमका लागि मासिक २ लाखसम्मको बजेट व्यवस्था गर्ने गरेको थियो । सीपसँग शिक्षा कार्यक्रमअन्तर्गत ३० विद्यार्थीका लागि मासिक २ लाख रुपियाँ उपलब्ध गरेको थियो ।
प्रतिक्रिया