राजधानीका सबै डिजिटल बोर्ड हटाउन शुरू

39.39k
Shares

कामपा राजस्व विभाग भन्छ: नियमसम्मत भएका नहटाउँ, कामपा प्रहरी भन्छ: सबै हटाउँछाैं
-१४ बुँदे सर्त नमानेपछि हटाउन शुरू गरेका हौं, कामपा प्रहरी प्रमुख पाण्डे

काठमाडौं ।

काठमाडौं महानगरपालिका प्रहरीले कामपाले गत वर्ष जारी गरेको १४ बुँदे सर्त पालना नगरेको भन्दै राजधानीका सबै डिजिटल बोर्ड हटाउन शुरू गरेको छ । कामपा प्रहरी बलको टोलीले हिजो बुधबार मध्यबानेश्वरको आइप्लेक्स कम्प्लेसबाट डिजिटल बोर्ड हटाउने कार्य शुरू गरेको हो ।

कामपा प्रहरी बलका प्रहरी प्रमुख राजु पाण्डेले मेयरको निर्देशनअनुसार बोर्ड हटाउन शुरू गरेको जानकारी दिँदै भन्नुभयो–‘राजधानीका विभिन्न स्थानमा राखिएका र रेकर्डमा भएका ४१ वटा बोर्ड छन्, सबै हटाउनेछौं ।’ उहाँले १४ बुदे सर्तमध्ये घरको छत, कौसी, र झ्याल छोपेर विज्ञापन सामग्री राख्न नपाइने बँुदालाई आधार मानेर सबै बोर्ड हटाउन शुरू गरिएको बताउनुभयो ।

कामपा प्रशासन विभागले २०७९ साल जेठ २१ गते कामपाको कर निर्देशिका २०६४, विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियम गर्ने नीति २०७० र कामपाको आर्थिक ऐन २०७८ विपरीत बोर्ड राख्न नपाइने, विज्ञापनको सामग्री राख्दा र परिवर्तन गर्दा कामपालाई जानकारी दिनुपर्ने बुँदाहरूलाई समेटेर १४ बुँदे सर्त जारी गरेको थियो । उक्त सर्तमा बाटोको सिमानादेखि १० फिट, सँधियारको सिमानादेखि ५ फिट, सार्वजनिक स्थान, संस्था, कार्यालय र सार्वजनिक सेवा प्रवाह गर्ने स्थानमा विज्ञापन सामग्री राख्न नपाइने बुँदा पनि समावेश छ ।

त्यस्तै, एक स्थानमा एउटामात्र विज्ञापन बोर्ड राख्न पाइने र सो बोर्ड समतल आकारको हुने, विज्ञापन राख्दा कुनै विशेष अवसरमा सार्वजनिक हितको विषयमा सूचना प्रदान गरेरमा प्रशारण गर्न दिनुपर्ने, विज्ञापन प्रचार सामग्रीको गुणस्तर नेपाल सरकारले तोकेअनुसार हुनुपर्नेलगायतका सर्त छन् ।

कामपाले तीनै सर्तलाई आधार मानेर बोर्ड हटाउन शुरू गरेको हो । यसअघि कामपाले नक्सा विभाग प्रमुख हरिश्चन्द्र लामिछानेको संयोजकत्वमा छानबिन समिति बताएको थियो । सो समितिले राजस्व बुझाएका ९ वटा मापदण्डअनुसार रहेको प्रतिवेदन दिएको थियो । गत पुस १९ गते बुझाइएको प्रतिवेदनमा तीन वटा विषयमा सुझाव दिँदै सर्त र मापदण्ड पूरा नगरेका केहीलाई तत्काल सुधार गर्न मौका दिनुपर्ने सुझाव दिएको थियो । तर, समितिको प्रतिवेदनको समेत बेवास्ता गर्दै कामपा प्रहरीले सबै बोर्ड हटाउन शुरू गरेको हो ।

कामपा राजस्व विभागले ९ वटा बोर्ड कम्पनीले राजस्व तिरेर नियमसंगत रूपमा राखेको बताए पनि प्रहरीले ती बोर्डले पनि सर्त पालना नगरेको ठहर गर्दै हटाउन लागेको जनाएको छ । कामपा प्रहरीका कामु प्रमुख पाण्डेले अदालतबाट निषेधाज्ञा लिएर आएकामध्येले कामपाको मापदण्ड पूरा नगरेपछि हटाउन शुरू गरेको दाबी गर्दै भन्नुभयो– ‘हामीले आदेश मान्ने हो, सबै हटाउन थालेका छौं । चित्त नबुझे राजस्व विभागलाई सोध्नुस् ।’

प्रहरीले बोर्ड हटाउन शुरू गरेपछि आत्तिएका व्यावसायीहरू राजस्व विभागमा पुगेका थिए । उनीहरूले राजस्व विभाग प्रमुख दीपक अधिकारीसमक्ष हारगुहार गरेपछि अधिकारीले राजस्व तिरेका ९ वटाबाहेक अन्यको हकमा कुनै जिम्मेवारी नरहेको उल्लेख गर्दै भन्नुभयो– ‘हामीले सम्झाएर पठाएका छौं, नियमसम्मत आउनेहरूको विषषमा सोच्न सकिन्छ । राजस्व विभाग र प्रहरीबीच समझदारी हुन नसक्दा कुन बोर्ड हटाउने, कुन नहटाउने भन्ने विषयमा विवाद भएको छ । महानगर प्रहरीले बोर्ड हटाउन शुरू गरेलगत्तै कामु प्रहरी प्रमुख पाण्डेमाथि दबाब आउन शुरू भएको थियो । प्रहरीले बोर्ड हटाउन शुरू गरेपछि केही व्यावसायीले आफंै हटाउन र व्यवस्थापन गर्ने जनाएका छन् ।

प्रमुख पाण्डेले भन्नुभयो–àअब सबै बोर्ड हटाउनेछौं, त्यसपछि कहाँ र कसलाई राख्नदिने हो भन्ने विषयमा मापदण्ड तयार गर्नेछांै ।’ स्रोतका अनुसार होडिङबोर्डको विषयमा अनियमितता भएको जानकारी पाएपछि प्रहरी प्रमुख पाण्डेलाई बोलाएर सबै बोर्ड हटाउन निर्देशन दिनुभएको थियो । सोही आधारमा हिजोबाट हटाउन शुरू भएको हो । कामपा राजस्व विभागका अनुसार नेपाल ट्रस्ट भवन दरबारमार्ग, थापाथली क्याम्पसको कम्पाउन्ड माइतीघर, स्ट्यान्डर्ड चार्टर्ड बंैक नजिक नयाँ बानेश्वर, लक्ष्मणबाबु भवन र भाटभटेनी भवन नक्साल, प्रसूति गृह र नर्भिक जानेबाटो थापाथली, कोटेश्वर, मायाराम भोलाराम पेट्रोलपम्प त्रिपुरेश्वर र न्युप्लाजा चोक पुतली सडकको डिजिटल होडिङबोर्ड राख्ने कम्पनीले राजस्व तिरेको छ ।

राजस्व विभाग प्रमुख अधिकारीले राजस्व तिरेका कम्पनीको नहटाउन आग्रह गरेको जानकारी दिनुभयो । तर, प्रहरीले भने सबै बोर्ड हटाउने तयारी गरेको छ । आर्थिक अनियमितिता भएको आशंकामा पहिलो चरणमा सबै बोर्ड हटाएपछि फेरि नयाँ मापदण्ड तयार गरी बोर्ड राख्न दिने योजना कामपाको छ । नियमसंगत राखेको बोर्डसमेत हटाउन थालेपछि आक्रोशित बनेका व्यवसायी कानुनी उपचार खोज्ने तयारीमा छन् । तथ्याङ्कअनुसार अधिकांश व्यावसायीले २०७८ सालमा कम्पनी दर्ता गरी डिजिटल बोर्ड राख्न शुरू गरेका थिए र आ.व.०७८÷०७९ को कर पनि तिरेका छन् । त्यसअवधिबाहेक हालसम्म कुनै पनि कर नतिरेको राजस्व विभागले जनाएको छ ।

राजस्व तिरेका डिजिटल बोर्डहरू
१.नेपाल ट्रस्ट भवन–दरबारमार्ग
२.थापाथली क्याम्पसको कम्पाउन्ड– माइतीघर
३.स्ट्यान्डर्ड चार्टर्ड बैंक नजिक – नयाँ बानेश्वर
४. लक्ष्मणबाबु भवन– नक्साल
५. प्रसूति गृह-नर्भिक जाने बाटो –थापाथली
६.भाटभटेनी भवन–नक्साल
७. कोटेश्वर
८.मायाराम भोलाराम पेट्रोल पम्प–त्रिपुरेश्वर
९.न्युप्लाजा चोक–पुतलीसडक