–गत वर्षको ६० लाख भुक्तानी गर्न बाँकी
–बजेटमै नभएको कार्यक्रम गरी १ करोड ३० लाख सकेको आरोप
काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह एक्लिँदै जानुभएको छ । उहाँको साथमा हाल केही सल्लाहकार र विभिन्न स्थानीय तहबाट सरुवा गरेर ल्याएका विभागीय प्रमुख मात्र छन् । बाँकी सबै कार्यपालिका सदस्य र विभागीय प्रमुखले मेयर साहले गरेका कुनै पनि कार्यक्रम बहिष्कार गर्ने घोषणा गरिसकेका छन् ।
कार्यपालिका सदस्यले करिब एक महिनाअघि मेयर साहलाई ज्ञापनपत्र दिएर भनेका थिए– कार्यपालिकाको बैठक तत्काल बोलाउनुस् । नत्र सबै कार्यक्रम बहिष्कार गर्नेछौं ।’ मेयर साहले कार्यपालिकाका सदस्यले लिखित रुपमा दिएको ज्ञापनपत्र रद्धीको टोकरीमा फाल्नुभएको छ र केही सल्लाहकारलाई साथ लिएर आफ्नै तालमा चलिरहनुभएको छ ।
वडा अध्यक्षले मेयरले बोलाएको बैठक बहिष्कार गरे पनि आफ्नो समितिअन्तर्गत भएका सबै कार्यक्रममा सक्रिय सहभागिता जनाइरहेका छन् । ‘झन्डै ५ महिनादेखि कार्यपालिकाको बैठक बोलाउनै नखोज्ने मेयरले बोलाएको बैठकमा किन जाने ?’ –कामपाका प्रवक्ता एवं १७ वडाका अध्यक्ष नवीन मानन्धरले नेपाल समाचारपत्रसँग भन्नुभयो ।
‘हामी सकभर मिलेर जाऔं भन्ने चाहन्छौं उहाँ त एकलौटि पारामा कुदिरहनुभएको छ’, उहाँले भन्नुभयो– ‘मेयरले कार्यपालिकाको बैठक नबोलाएसम्म कुनै पनि कार्यक्रममा कार्यपालिकाका सदस्य सहभागी नहुने हाम्रो अडान छ । यो अडान मेरो मात्र होइन सबै कार्यपालिकाको सदस्यको हो, अधिकांश विभागीय प्रमुखको हो ।’ मेयर साह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको टसलका कारण यति लामो समयसम्म कार्यपालिका बैठक हुन नसकेको हो ।
मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको मिलाप नभएका कारण कामपामा दर्जनौं काम अलपत्र छ । उहाँहरुबीच सम्बन्ध चिसिएको कारण जेठ ७ गतेबाट हुने सीप मेला कसरी गर्ने भन्ने अन्योल छ । बैठकमा उहाँका भित्रिया केही कर्मचारीबाहेक कोही पनि उपस्थित भएका थिएनन् । उपस्थित नभएको बैठकको माइन्युटमा हस्ताक्षर गर्न मेयर सचिवालयका कर्मचारी विभागीय प्रमुखको ढोका ढकढक्याउन थालेका छन् ।
गत वर्ष सम्पन्न मेलामा व्यापक भ्रष्टाचार भएको आरोपमा प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ । सो उजुरीमाथि छानबिन जारी रहेको स्रोतले बताएको छ । गत वर्ष पनि कार्यपालिका बैठकले पारित नगरी मेला आयोजना भएको थियो । यो वर्ष बजेटमा उल्लेख भए पनि कार्यपालिकाको बैठक बसेको छैन ।
अब बजेट कसरी चलाउने समस्या परेको छ । मेयर साहले चुरोट, चाउचाउलगायत निषेध गरिएको संस्थाको विज्ञापन ल्याएर मेला आयोजना गर्ने तयारी गरिरहनुभएको छ । महानगरवासीले तिरेको करबाट संकलित रकम युवा मेयरको सम्भावित राजनीतिक दल निर्माणको कार्यलाई देशव्यापी बनाउन सजिलो हुने गरी देशभरिका मानिसलाई सहभागिताका लागि आह्वान गरी निकै तामझामका साथ टुँडिखेलमा नाटक मञ्चन गरिएको आरोप उजुरीमा छ ।
सीप मेलाको बारेमा राजनीतिक दलका प्रतिनिधि वडाध्यक्षहरुले हेक्का राखेको समेत पाइएको छैन । उक्त सीप मेलामा महानगरवासीको करबाट १ करोड ३० लाख खर्च गरी अर्थहीन मेला आयोजना भएको थियो । शिक्षा सल्लाहकार शैलेन्द्र झाको नेतृत्वमा निजको बिचौलिया झुन्डले नियोजित रुपमा तयार पारेका कोटेसन स्वीकृत गरी प्रति फाइल १० लाखको दरले १३ टुक्रा बनाई १३ वटा भुक्तानी भएको उजुरीमा उल्लेख छ ।
सोही आर्थिक कारोबारको विषयमा अनुसन्धान भइरहेको स्रोतको भनाइ छ । प्रम कार्यालयमा पेस भएका १४ उजुरीमध्ये यसबारे गम्भीरताका साथ अनुसन्धान भइरहेको छ । गत वर्ष मेलामा राम्रै फाइदा भएपछि हौसिएको सचिवालय टिमले यो वर्ष २ करोड खर्च गर्ने गरी मेला आयोजना गर्न लागेको छ ।
प्रतिक्रिया