काठमाडौं ।
१४ वर्षको उमेरमा यस्तो इनिङ, त्यो पनि विश्वका सर्वश्रेष्ठ बलरहरूमाथि ब्याट नचाएको । जुन, विश्वास गर्न गाह्रो लाग्न सक्छ । तर, राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले यस्तै जादू देखाए ।
आईपीएल २०२५ मा गुजरात टाइटन्सविरुद्ध ३८ बलमा अविश्वसनीय १०१ रन बनाउँदै वैभवले इतिहास रचेका हुन् । ७ चौका र ११ छक्का हानेर क्रिकेट देवताजस्तै प्रदर्शन गरेका थिए वैभवले । त्यो पनि राशिद खान, मोहम्मद सिराज, प्रसिद्ध कृष्णाजस्ता धुरन्धर बलरको कुनै दवाब नसहीकन ।
वैभवले देखाएको आत्मविश्वास, शैली र साहस १४ वर्षको किशोरका लागि होइन, बरु दशकौंदेखि खेलिरहेका अनुभवी खेलाडीको झल्को दिएको थियो । त्यो शतकको गन्ती मात्र थिएन, त्यो शतक थियो क्रिकेटको उज्यालो भविष्यको ।
१४ वर्ष र ३२ दिन उमेरमा टी–२० इतिहासकै सबैभन्दा कम उमेरमा शतक हान्ने खेलाडी बन्ने कीर्तिमान उनले बनाएका छन् । चोटका कारण नियमित कप्तान सञ्जु सेमसन बेन्चमा बस्नुपरेपछि वैभवलाई मौका मिलेको हो । तर, वैभवको वैभवशाली प्रदर्शनले सेमसनको अनुपस्थितिलाई महसूस नै हुन दिएन ।
उनको यस्तो प्रदर्शन देखेर मुख्य प्रशिक्षक राहुल द्रविड आफैँ उठेर ताली बजाउनु र गुजरातको डगआउटबाट समेत सम्मान पाउनुले देखाउँछ क्रिकेटले अब नयाँ नायक पाएको छ भनेर ।
वैभव केवल एक किशोर मात्र होइनन्, उनी भविष्यका सुपरस्टारको रुपमा चर्चा हुन थालेको छ । क्रिकेटको नयाँ युग सुरु भएको ठम्याइ छ । जसको अगुवाई गर्दैछन् एक साहसी, निडर, र प्रतिभाशाली युवा वैभव सूर्यवंशी ।
शतक कसरी बन्यो ?
– पहिलो ओभरमै मोहम्मद सिराजलाई छक्का हानेर खेलको सुरुआत
– चौथो ओभरमा इशान्त शर्माबाट २८ रन बटुलेको, ३ छक्का, २ चौका
– पाँचौं ओभरमा मात्र १७ बलमा अर्धशतक पूरा, सिजनकै छिटो अर्धशतक
– दशौं ओभरमा करिम जनतको बलिङमा ३० रन बटुलेको, ४ छक्का, २ चौका
– अन्ततः ११औं ओभरको दोस्रो बलमा राशिद खानलाई छक्का हानेर ३५ बलमा शतक प्रहार गरेको ।
वैभवको यात्राः क्रिकेटर बन्ने संघर्ष
– बिहारको ताजपुर गाउँमा जन्म, ४ वर्षमै क्रिकेट सुरु
– बुबाले खेत बेचेर क्रिकेटको सपना पूरा गरेको
– १२ वर्षमै भारत बी को यु –१९ टोली, त्यसपछि रणजी, युथ टेस्टमा खेलेको
– १३ वर्षमा प्रतिस्पर्धात्मक क्रिकेटमा पहिलो शतक
– २०२४ को आईपीएल अक्सनमा १ करोड १० लाख भारुमा राजस्थानले अनुबन्ध गरेको
– एक वर्षमै आईपीएलमा कीर्तिमान रचेको
आईपीएलको ५ छिटो शतकः
बल खेलाडी विरुद्ध वर्ष
३० क्रिस गेल (रोयल च्यालेन्जर्स बैंगलोर) पुणे वारियर्स २०१३
३५ वैभव सूर्यवंशी (राजस्थान रोयल्स) गुजरात टाइटन्स २०२५
३७ युसुफ पठान (राजस्थान रोयल्स) मुम्बई इन्डियन्स २०१०
३८ डेभिड मिलर (किंग्स ११ पञ्जाब) रोयल च्यालेन्जर्स २०१३
३९ ट्राभिस हेड (सनराइजर्स हैदराबाद) रोयल च्यालेन्जर्स २०२४
प्रतिक्रिया