मलाई पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात नआउनु : गगन थापा


काठमाडौँ।

नेपाली कांग्रेसका सभापति गगन थापाले राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्ने माध्यम नबनाउन सरकारलाई चेतावनी दिएका छन्। सरकारको आलोचना गर्ने र प्रश्न उठाउनेहरूलाई विभिन्न बहानामा दबाब तथा घेराबन्दीमा पार्न खोजिएको उनको आरोप छ।

मंगलबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले आफूलाई पक्राउ गर्ने हल्ला फैलाइएको भन्दै त्यसबाट आफू विचलित नहुने बताएका हुन्। पक्राउ गर्ने नै भए हतकडी लिएर आउन सरकारलाई चुनौती दिँदै उनले खाली हात नआउन चेतावनी दिए।

राजाको शासनकालमा समेत आफूले राजद्रोहको मुद्दा खेपेको स्मरण गर्दै थापाले माओवादी सशस्त्र द्वन्द्वकालदेखि केपी शर्मा ओली नेतृत्वको सरकारका पालासम्म सत्तालाई निरन्तर प्रश्न गर्दै आएको बताए। शक्तिशाली सरकारसँग प्रश्न उठाउँदा राजनीतिक मूल्य चुकाउनुपर्ने अवस्था आए पनि आफू पछि नहट्ने उनको भनाइ थियो।

‘पक्राउ गर्ने साथीले त्यो कुरा बुझे हुन्छ, पक्रँदै गर्दा खाली हातचाहिँ नआउनु, हतकडीचाहिँ लिएर आउनु, खाली हातचाहिँ जान्नँ,’ थापाले भने, ‘न नेपाली कांग्रेस पार्टीले आफ्नो क्यारेक्टर लुज गर्छ, न कांग्रेसको सभापतिले आफ्नो क्यारेक्टर लुज गर्छ।’

उनले सामाजिक सञ्जालमार्फत भय र त्रास सिर्जना गरी कांग्रेस नेतृत्वलाई दबाबमा पार्ने प्रयास भइरहेको आरोपसमेत लगाए।

थापाले दोषीलाई कानुनी दायरामा ल्याउने सरकारको प्रयासमा कांग्रेसको साथ रहने स्पष्ट पारे। तर अनुसन्धानका नाममा राजनीतिक प्रतिशोध साँध्ने र सत्ता निकट व्यक्तिलाई उन्मुक्ति दिँदै विपक्षीलाई मात्रै कारबाही गर्ने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ छ।

उनले विगतमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि आफूहरूले नेता वा नाताका आधारमा कसैले उन्मुक्ति पाउन नहुने धारणा राख्दै आएको स्मरण गराए। अहिले प्रधानमन्त्री बालेन्द्र शाह वा राष्ट्रिय स्वतन्त्र पार्टीसँग निकट रहेका व्यक्तिले पनि कानुनविपरीत छुट पाउन नहुने उनले बताए।

‘कोही मान्छे प्रधानमन्त्री बालेन शाहसँग नजिक भएको कारणले गर्दा छुट पाउनु हुँदैन भनेर भन्ने हो कि होइन अहिले हामीले ? कोही मान्छे राष्ट्रिय स्वतन्त्र पार्टीको भएको कारणले गर्दा छुट पाउनु हुँदैन भनेर भन्ने हो कि होइन हामीले ?’ थापाले प्रश्न गरे।

राज्यले विगतका कमजोरी तथा अनियमितताबारे गर्ने अनुसन्धानमा कांग्रेसले कुनै अवरोध नगर्ने बताउँदै उनले अनुसन्धान निष्पक्ष र कानुनसम्मत हुनुपर्नेमा जोड दिए। तर राजनीतिक प्रतिपक्षलाई तह लगाउन राज्यका संयन्त्र प्रयोग गरिए कांग्रेसले त्यसको जवाफ माग्ने उनको चेतावनी थियो।

राज्यका संयन्त्रलाई निजी कम्पनीजस्तो गरी सञ्चालन गर्न खोजिए कांग्रेसले प्रश्न उठाउने बताउँदै थापाले पार्टीले सत्य, न्याय र आफ्नो राजनीतिक जिम्मेवारीका पक्षमा निरन्तर आवाज उठाउने बताए।

उनले सरकारका राम्रा काममा कांग्रेसले साथ र सहयोग गर्ने तर गलत काम र निर्णयको निरन्तर खबरदारी गर्ने पनि स्पष्ट पारे। कांग्रेसलाई तर्साएर वा दबाबमा पारेर उसको आलोचनात्मक भूमिकालाई कमजोर बनाउन खोजिए त्यस्तो प्रयास सफल नहुने उनको भनाइ थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।