काठमाडौं ।
प्रविधिको प्रयोगलाई सही समयमा सही ढंगले प्रयोग गर्न सकियो भने जस्तोसुकै अपराधमा संलग्न रहेका अपराधीहरू प्रहरी कारबाहीबाट उम्कन मुस्किल हुन थालेको छ । अघिल्लो मंगलवार धोबीखोला करिडोरको धनन्तरी मार्गमा भएको हत्याको घटनामा संलग्न रहेका अभियुक्तलाई प्रहरीले प्रविधिको प्रयोगमार्फत पक्राउ गर्न सफल भएको छ ।
अघिल्लो मंगलवार राति पौने १२ बजे तेस्रो लिङ्गी अडवीर राईको हत्यामा संलग्न विराट ठकुरीलाई प्रहरीले घटना भएको केही दिनमा नै पक्राउ गर्न सफल भएको छ । उक्त घटनापछि प्रहरी परिसर काठमाडौंले प्रहरी निरीक्षक वाङगेल लामाको कमान्डमा एउटा अनुसन्धान टोली गठन गरेको थियो । उक्त घटनामा संलग्न रहेका ठकुरी र राईबीच गाँजाको मूल्यको विषयलाई लिएर भएको विवाद हत्यामा परिणत भएको थियो ।
बुधबारको शिवरात्रीमा गाँजा खाएर रमाइलो गर्ने सोच बनाएका ठकुरी गाँजा खोज्न चाबहिल चोक पुगेका थिए । राम्रो व्यापारीको खोजीमा रहेका राई र ठकुरीबीच भेट हुन्छ । गाँजा बेच्न भनेर आफ्ना साथीहरूसँग बिदा भएर हिँडेका राई र ठकुरीबीच चाबहिल चोकमा भेट भएपछि दुवै जना धोबीखोला करिडोरको धनन्तरी मार्गमा पुग्छन् । दिनभर बा ४ ख ५९९३ नम्वरको बसमा सहचालकको काम गरेका ठकुरीले बसमा नै बसेर गाँजाको मोलमोलाई गर्ने योजनाअनुरूप दुवै जना गाडी भएको ठाउँमा पुग्छन् ।
आफूसँग १० पोका गाँजा रहेको र उक्त गाँजाको मूल्य ५ हजार पर्ने राईले बताएपछि ठकुरीले आफूसँग ५ सय रुपियाँमात्रै रहेको बताउँछन् । त्यसपछि तेस्रो लिङ्गी राई र सहचाकल ठकुरीबीच विवाद शुरू हुन्छ । राईले ५ हजार नदिए आफूले गाँजा नदिने अडानमा रहन्छन् भने ठकुरीले भने आफूसँग ५ सय रुपियाँमात्रै भएकाले त्यत्रो पैसा दिन नसक्ने बताउँछन् । सामान लिने भनेर त्यहाँसम्म बोलाएर रकम थोरै दिने बताएपछि क्रुद्ध भएका राईले गाडी तोडफोड गर्ने भन्दै ढुंगा उचालेर गाडीमाथि हान्न खोजेपछि ठकुरीले पनि राइमाथि ढुंगा प्रहार गरेका थिए ।
दुवै जना केहीबेर घम्साघम्सी गरेपछि ठकुरीले राईको टाउकोमा ढुंगा बजारेका थिए । ठकुरीको ढुंगा प्रहारबाट सख्त घाइते भएका राई बेहोस भएका थिए । त्यसपछि आवेगमा आएका ठकुरीले राईमाथि लगातार ढुंगा प्रहार गरी हत्या गरेर नजिकैको झाडीमा छोपेर भागेका थिए । बुधबार बिहान झाडीमा एउटा शव बेवारिसे अवस्थामा देखेपछि प्रहरीलाई स्थानीयले खबर गरेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंले उक्त घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षक लामाको कमान्डमा प्रहरी टोली परिचालन गरेको थियो । प्रहरीले घटनास्थलको अवस्थाको बारेमा शुरूमा अनुसन्धान गरेपछि अपराधमा संलग्न रहेका व्यक्तिको खोजी प्रक्रिया शुरू गरेको थियो । प्रहरीले घटनास्थल वरपरको अवस्था बारेमा जानकारी दिएपछि सो क्षेत्रमा जडान गरिएको सीसीटीभी फुटेजलाई अनुसन्धानको मुख्य आधार बनाएको थियो ।
प्रहरीले मृतक राई र सहचालक ठकुरीसँगै बस भएको ठाउँमा गएको देखिएको तर ठकुरी र राईबीचको कुनै हर्कत भएको फुटेज भने फेला नपरेपछि प्रहरीले पार्किङ गरी राखेको गाडी नम्बरको खोजीलाई तीव्र बनाएको थियो । सीसीटीभीकै सहायतमा प्रहरीले गाडी र नम्बर पत्ता लगाएपछि प्रहरीले उक्त गाडीका सहचालक ठकुरीको खोजी शुरू गरेको थियो । प्रहरीले सहचालक ठकुरीको हुलियाका आधारमा अनुसन्धान टोली खटिएकोमा भक्तपुरको सल्लाघारीमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो ।
राईको हत्याको दिन लगाएकै लुगामा प्रहरीले ठकुरीलाई पक्राउ गरी कारबाही अघि बढाएको छ । सरकारले सुरक्षित राजधानीको अवधारणा अघि सारे पनि प्रविधिको प्रयोगलाई व्यापक बनाउन नसक्दा अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्न प्रहरीलाई समय लाग्ने गरेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहोराले जानकारी दिनुभयो ।
यसपटकको घटना अपराधमा संलग्न रहेका व्यक्ति सीसीटीभी फुटेजमा कैद भएकाले पक्राउ गर्न सजिलो भएको र प्रविधिको प्रयोगलाई व्यापक बनाउनुपर्ने राय प्रहरी अधिकारीहरूको रहेको छ ।











प्रतिक्रिया