न्युजिल्यान्डसामु १ सय ७ रनको विजयी लक्ष्य


एजेन्सी ।

घरेलु टिम भारतले पहिलो टेस्टमा न्युजिल्यान्डसामु १ सय ७ रनको विजयी लक्ष्य निर्धारण गरेको छ। बैंगलुरु स्टेडियममा शनिबार चौथो दिन भारतीय टिम ४ सय ६२ रनमा अलआउट भएपछि यति छोटो लक्ष्य निर्धारित भयो।

यसअघि भारत पहिलो इनिङमा ४६ रनमै अलआउट भएको थियो । न्युजिल्यान्डले यो टेस्ट जित्ने संभावना धेरै छ । भारतको लागि भने वर्षा भएमा वा बलरले चमत्कारीक बलिङ गरेमा टेस्ट बचाउन सक्नेछ।

न्युजिल्यान्डले पहिलो इनिङमा ४ सय २ रन बनाएको थियो । योसँगैं पाहुना टिम न्युजिल्यान्डले भारतमाथि ३ सय ५६ रनको अग्रता लिएको थियो । तेस्रो दिन भारतले दोस्रो इनिङ शुरु गर्दा निकै दबाबमा थियो । तर, यशस्वी जैसवाल र कप्तान रोहित शर्माले ७२ रनको साझेदारी गरी राम्रो शुरुआत गरे ।
विराटको ९ हजार रन
जैसवाल ३५ रन बनाएर आउट भएपछि विराट कोहलीले रोहितलाई साथ दिन आए । रोहित ५२ रन बनाएर छिटै आउट भएका थिए। ९५ रनमा दोस्रो विकेट गुमेको अवस्थामा विराट र सरफराज खानले तेस्रो विकेटका लागि १ सय ३६ रनको साझेदारी गरे।

विराट तेस्रो दिनको अन्तिम बलमा ७० रन बनाएर आउट भए । यही क्रममा विराटले ५३ रन बनाउँदा टेस्टमा ९ हजार रन पुरा पनि गरे । ९ हजार पुरा गर्नेमा उनी सचिन तेन्दुलकर, राहुल द्रविड र सुनिल गावस्करपछि चाथौ भारतीय ब्याटर बने ।

सरफराजको पहिलो शतक

यसपछि सरफराज र ऋषभ पन्तले ब्याटिङ अघि सारे। दुबै आक्रमक ब्याटिङ गरेर चौथो विकेटका लागि १ सय ७७ रनको साझेदारी गरेका थिए। सरफराज १ सय ५० रन बनाएर आउट भएका थिए। यो उनको पहिलो टेस्ट शतक समेत थियो । तर, पन्त भने ९९ रनमा आउट भएर शतकबाट चुकेका थिए।

न्युजिल्यान्डको बलिङ

न्युजिल्यान्डको बलरमा ओराउके र म्याट हेनरीले ३–३ विकेट लिए । एजाज पटेलले २ विकेट लिँदा टिम साउदी र फिलिप्सले १–१ विकेट हासिल गरेका थिए । यसअघि पहिलो इनिङमा ओराउकेले ४ तथा हेनरीले ५ विकेट लिएका थिए । एक विकेट साउदीको नाममा भएको थियो ।