विपद्पूर्वको तयारीमा कमजोरी


बिहीबारदेखि परेको अविरल वर्षाका कारण सबैभन्दा बढी क्षति संघीय राजधानी काठमाडौं, ललितपुर र भक्तपुरले नै व्यहोर्नुपरेको छ । यी तीन जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ भने सयौं घर डुबानमा परेका छन्। शनिबार तीनवटै जिल्लालगायत देशका अन्य कैयौँ जिल्लाको जनजीवन पनि अस्तव्यस्त बन्न पुग्यो। विपद्बाट क्षति भइसकेपछि सरकारले उद्धारमा जति तदारुकता देखाउँछ त्यति नै तदारुकता विपद्पूर्वको तयारीमा अपनाउन सकेको पाइँदैन । त्यसैले यसपटकको विपद्मा पनि ठूलो संख्यामा मानवीय क्षति हुन पुगेको छ।

जल तथा मौसम विज्ञान विभागले गत बुधबार नै बाढीपहिरोको जोखिम रहेको स्पष्ट पारेको थियो । सोही अनुसार नै अविरलरुपमा भीषण पानी परेको देखिन्छ । यसरी सरकारको एक निकायले समयमा नै जोखिम औंल्याएको भए पनि गृह मन्त्रालय तथा अन्य सरोकारवाला निकायले भने विपद्को क्षति न्यूनीकरण गर्नका लागि सोही अनुसारको पूर्वतयारी गर्न नसक्दा ठूलो जनधनको क्षति हुन पुगेको स्पष्ट छ।

उता गृह मन्त्रालय मातहत रहेकै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत विपद्को बेला कहाँ कति जोखिम छ भन्ने बारेमा स्पष्ट पार्दै सोही अनुसार सचेतता अपनाउन आग्रह गरेको थियो तर गृह मन्त्रालय र मातहत रहेका विपद् पूर्वतयारीमा काम गर्ने जिल्ला प्रशासन कार्यालय तथा अन्य सरोकारवाला निकाय र प्राधिकरण आफैँले समेत पूर्वतयारीमा सशक्त काम गर्न सकेनन् । ललितपुरमा नै घण्टौंसम्म उद्धारको प्रतीक्षा गरेका पीडितहरुको समयमा नै उद्धार हुन नसक्दा कतिपय नागरिक मृत्युको मुखमा परेका छन् ।

यसपटकको विपद्मा सर्वाधिक जोखिममा रहेका भनिएका काठमाडौं, ललितपुर र भक्तपु्र जिल्लामा ठूलो संख्यामा उद्धार टोलीलाई ‘एलर्ट’ राखेर सोही अनुसार परिचालन गरेको भए यति ठूलो संख्यामा मानवीय क्षति हुन पाउँदैनथ्यो । विपद्पूर्वको प्रभावकारी तयारी र सरकारी निकायबीच अन्तर समन्वयको अभाव हुँदा राजधानीले नै बढी क्षति व्यहोर्नुपरेको छ । तीन जिल्लामा झन्डै तीन दर्जन व्यक्तिको मृत्यु भएको विषयलाई नजरअन्दाज गर्न मिल्दैन । यो संघीय राजधानी र यहाँ रहेका सरकारी निकायको लागि अति नै लाजमर्दो विषय हो । पूर्वाधार विज्ञहरुले पनि यसपटक सरकारी निकाय पूर्वतयारी र व्यवस्थापनमा नराम्ररी चुकेको बताएका छन् । विपद् व्यवस्थापनमा सरकारका धेरै निकायहरु कार्यरत छन् तर उनीहरु पूर्वतयारीमा भने पूर्णरुपमा चुक्नुलाई विडम्बना र दुःखद मान्नुपर्छ ।

प्रधानमन्त्री विपद् व्यवस्थापन समिति तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले तीन दिनअगाडि नै जोखिमका बारेमा थाहा पाए पनि पूर्वतयारीमा प्रभावकारी काम गर्न नसक्दा बढी क्षति भोग्नुपरेको हो । उपत्यकामै नागरिक डुबिरहँदा पनि घण्टौंसम्म पनि सरकारको उपस्थिति भएन। जसका कारण केहीले ज्यान जोगाउन विवश भए। उता स्थानीय सरकारहरु पनि पूर्वतयारीमा चुकेकै देखिन्छ। पूर्वतयारीमा चुकेको सरकारी संयन्त्रले वर्षा र बाढीबाट किन यति धेरै क्षति भइरहेको छ भन्ने बारेमा गहन सोचविचार र छलफल चलाउनुपर्ने बेला भइसकेको छ।

पहाडमा नदीछेउमा भइरहेको बस्ती विकास र तराईमा वर्षाको पानीको प्राकृतिक प्रवाहलाई प्रभावित गर्ने गरी भएको शहरीकरणका कारण बाढीपहिरो र तटीय क्षेत्र कटानमा यो भयावह अवस्था सिर्जना भएको हो। पहाड–तराई तथा शहर–गाउँ सबैतिर अवैज्ञानिक बस्ती विकास र शहरीकरणले गर्दा यस खाले समस्या आइरहेको छ भन्ने बारेमा सरकारी निकायले समयमै सोचविचार गरी समाधानको उपाय खोज्नुपर्छ र विपद्को पूर्वतयारीमा विशेष चनाखो बन्नुपर्छ।