काठमाडौं ।
संविधान जारी भएको ९ वर्षपछि सरकारले संविधान संशोधन एवं पुनरावलोकनको विषयलाई सैद्धान्तिक रूपमा स्वीकार गरेको छ।
संविधान संशोधन एवं पुनरावलोकनको विषयलाई संविधान जारी भएदेखि नै अस्वीकार गर्दै आएको नेपाली कांग्रेस र नेकपा (एमाले) ले मिलेर सरकार बनाएपछि त्यसलाई सैद्धान्तिक रूपमा स्वीकार गरेको हो ।
तराई मधेसबाट प्रतिनिधित्व गर्ने दलहरूको असन्तुष्टिका बाबजुद अहिले प्रमुख प्रतिपक्ष दल रहेको नेकपा (माओवादी) सहित नेपाली कांग्रेस र नेकपा (एमाले) २०७२ सालमा अहिलेको संविधान जारी गर्ने मुख्य शक्तिहरू हुन् ।
जनता समाजवादी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी,(लोसपा) जनमत र नागरिक लोकतान्त्रिक पार्टीले संविधान संशोधनको विषयलाई शुरूदेखि चुनावी घोषणापत्रदेखि पार्टीको औपचारिक दस्तावेजमा उल्लेख गर्दै आएको छ । संविधान जारी गर्दा ती मध्येका दलहरूले संविधानको संशोधनको मुद्दा उठाएर आन्दोलन समेत गरका थिए ।
तराई मधेसलाई प्रतिनिधित्व गर्ने दलहरूकै आन्दोलनका कारण संविधान जारी भएको झन्डै छ महिनापछि २०७२ साल फागुन १६ गते पहिलोपटक संविधान संशोधन गरिएको थियो भने दोस्रो पटक २०७७ असार ३ गते संविधानमा नेपालको नक्सा सर्वसम्मत रूपमा संशोधन गरिएको थियो ।
प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा (एमाले) बीच गत असार १७ गते भएको ७ बुँदे सहमतिमा संविधान संशोधन गर्ने विषय उल्लेख गरिएको थियो । हालै सम्पन्न सत्ता गठबन्धनको बैठकमा पनि संविधान संशोधन विषयमा छलफल भएको थियो ।
नेपालमा हरेक दश/दश वर्षको अन्तरालमा संविधान नै फेरिँदै आएको छ । यस अवस्थामा संविधान संशोधन लगभग लगभग राष्ट्रिय विषय बनेको छ । सरकार गठनको औचित्य साबित गर्न संविधान संशोधन गर्ने विषय उठाएको भनेर राजनीतिक विश्लेषकहरूबाट आलोचना नभएको पनि होइन । सडकदेखि सदनसम्म, राजनीतिक दलहरूको बैठकमा चर्चा विषय बनेको संविधान संशोेधनको विषयले ढिलो चाँडो राजनीति त्यसतर्फ उन्मुख हुनेछ ।
प्रधानमन्त्री केपी ओलीले सबैको सहमतिमा संविधान संशोधन गर्ने विषय सार्वजनिक रूपमा बारम्बार भनिरहनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्ने तर अहिलेको प्राप्त उपलब्धिलाई कटौती गर्न नहुने अभिव्यक्ति दिँदै आउनुभएको छ । त्यस्तै, मन्त्री तथा सत्तासाझेदार दलका नेताहरूको सार्वजनिक अभिव्यक्तिले नेपालको राजनीति क्रमशः संविधान संशोधनतर्फ उन्मुख भएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
संविधान संशोधनको एजेन्डा उठ्न थालेसँगै राजनीतिक दलहरूले त्यसबारे आआफ्नो धारणा बनाइरहेका छन् । संविधान संशोधनमा सत्ता र प्रतिपक्षमा रहेका राजनीतिक दलहरूबीच एकमत भए पनि संशोधनको विषयमा भने विभाजित देखिएका छन् । संविधान संशोधनको बुँदामा भने राजनीतिक दलले सार्वजनिक रूपमा फरक/फरक धारणा अघि सारेका हुन् । राजनीतिक दलहरूमा उत्साह र आशंका नजरले हेरिरहेका छन् ।
संविधान संशोधनको एजेन्डाकै कारण साना दलहरूले वर्तमान सरकारलाई समर्थन गरेका छन् । संविधान संशोधनको विषय उठान भएकोले वर्तमान सरकारलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले समर्थन जनाएको उल्लेख गर्दै पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले बताउनुभयो ।
नयाँ सरकार बनेलगत्तै एमालेले आवश्यकताअनुसार संविधान र कानुन संशोधन गर्न सरकारको ध्यानाकर्षण गराइसकेको छ। राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीसम्बन्धी संविधानका व्यवस्थाहरू र राजनीतिक दलसम्बन्धी कानुनको पुनरावलोकन गर्न, आवश्यकताअनुसार संशोधन गर्न र विद्युतीय मतदानको व्यवस्था गर्न सो पार्टीले सुझाव दिएको थियो।
त्यस्तै, नेपाली कांग्रेसले पनि संविधान संशोधनको विषय पार्टीबाट अनुमोदन गराइसकेको छ । नेपाली कांग्रेस नेता डा.मीनेन्द्र रिजालले समानुपातिक निर्वाचन प्रणालीको सिट कटौती गर्नुपर्ने धारणा अघि सार्दै आउनुभएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरूको मुख्य एजेन्डा संविधान संशोधनमा नै रहेकाले देशका दुई ठूला दल सहमत भएका कारण सरकारलाई समर्थन गरेको बताउनुभयो । संविधान निर्माण भएदेखि नै आफूहरूले संविधान संशोधनको कुरा उठाउँदै आएको अध्यक्ष यादवको भनाइ छ ।
‘दुवै दल अहिले संविधान संशोधन गर्न तयार भएका छन् । के के विषयमा संशोधन हुन्छ, त्यसमा पछि छलफल हुँदै गर्छ तर अहिले संविधान संशोधनका लागि तयार हुनु नै ठुलो कुरा हो ।’ –उहाँले भन्नुभयो ।
त्यसै गरी लोसपाका महासचिव डा.सुरेन्द्र झाले लोसपाको पहिलो माग नै संविधान संशोधन रहेको र त्यसका विगतदेखि संघर्र्ष गर्दै आएको उल्लेख गर्दै अहिले ती दलहरूले संविधान संशोधन गर्ने सहमतिले खुशी बनाएको धारणा व्यक्त गर्नुभयो ।
लोसपाले चाहेको जस्तो संविधान संशोधन भयो भने त्यसमा समर्थन हुन्छ, यदि त्योअनुसार भएन भने तत्कालै त्यसको विरोध हुन्छ । उहाँले भन्नुभयो ‘संविधान संशोधनको कुरा आउनु नै सकारात्मक रहेको छ ।’ पूर्वमन्त्री श्रेष्ठका अनुसार संविधान संशोधन भने तत्काल नै हुँदैन ।
‘यो विषयमा २०८४ सम्म बहस चलिरहने छ । यस स्थितिमा अब नेपाली राजनीतिमा संविधान संशोधनको एजेन्डा बलियो रुपमा स्थापित हुने छ ।’ –उहाँले भन्नुभयो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले संविधानको मुख्य उपलब्धिका रूपमा रहेको संघीयता, धर्मनिरपेक्ष, लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशीको मुल मर्म दायाँबायाँ हुने गरी संविधान सशोधन गरेमा अमान्य हुने भनिसकेको छ । त्यसैगरी महिला, मधेशी, आदिवासी जनजाति, दलित, सीमान्तकृतको कोणबाट संविधान संशोधन गर्नुपर्ने विषयको फेहरिस्त रहेको छ ।
सर्वोच्च अदालतका पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले पनि संविधानको कार्यान्वयनको पुनरावलोकन गरी आवश्यकताका आधारमा संविधान संशोधन गर्नुपर्ने विचार व्यक्त गर्दै आउनुभएको छ । संविधानका केही संरचनात्मक र प्रक्रियागत समस्या छन्, त्यसलाई सम्बोधन नगर्ने हो यो संविधानले परिणाम दिँदैन ।
जुन उद्देश्यले जुन संरचना खडा भए, नतिजा नदिने हो भने त्यो व्यर्थको अभ्यास जस्तो हुन्छ । ‘संविधान कार्यान्वयन गर्न हुने बनाउने हो भने अविलम्ब पुनरावलोकन र आवश्यक सुधार गर्नुपर्छ ।’ उहाँले भन्नुभयो । कुन कुन विषयमा पुनरावलोकन गर्ने हो त्यो विस्तृत छलफलको विषय रहेको पनि श्रेष्ठको कथन रहेको छ ।
संविधानको प्रस्तावना र मर्मबाटविपरीत हुने गरी संशोधन गर्ने कि व्यावहारिक अभ्यासका आधारमा संविधानको मर्मअनुरूप अझ अघि बढ्ने प्रश्न अहिले मुख्य विषय रहेको प्राध्यापक कृष्ण खनालको तर्क रहेको छ । संविधान बनाउँदाको उद्देश्य, मर्म र स्थापनकालीन मूल्यलाई पनि ध्यानमा राख्नुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक प्रतिनिधित्व यसका आधारशीला हुन् । तिनको कार्यान्वयनमा के कस्ता समस्या आए भन्ने गम्भीर समीक्षा सहित पुनरावलोकन गर्नु जरुरी छ ।
उहाँले भन्नुभयो – ‘तिनको थप अभिवृद्धि र प्रभावकारिताका लागि संशोधन गर्ने हो । यसका लागि संसद्ले एउटा समिति वा आयोग बनाएर काम प्रारम्भ गर्न सक्छ । नागरिक र विज्ञसित परामर्श पनि गर्न सक्छ ।’
तत्कालको अनुकूलताका लागि संविधानका केही दफा हेरफेरमा मात्र सीमित हुने हो भने राजनीतिले अपेक्षित गति लिन नसक्ने पनि उहाँको भनाई रहेको छ।








तपाईंको विचार लेख्नुहोस्