सामाजिक मर्यादा, रुपान्तरण र सुशासनको आवश्यकता

11.47k
Shares

विश्वको प्रत्येक समाज निश्चित संस्कृति र संस्कारजन्य अभ्यासहरु पालना गरी सञ्चालन एवं विकसित हुँदै आएको छ । नेपालमा प्राग इतिहासदेखि आधुनिक कालसम्म किरात, हिन्दू, बौद्व, इस्लाम, एवं इसाई दर्शन अपनाउने विविध समाज रहँदै आएको छ। ती प्रत्येक समाजमा आ–आफ्नै विशेषतायुक्त बेग्लाबेग्लै रीतिरिवाज तथा प्रथा मनाउने अभ्यास रहिआएको छ।

तदनुरुप काठमाडांै उपत्यकामा मानवीय सभ्यता विकसित हुने क्रममा मानिसको जन्मदेखि मृत्युवरणसम्ममा गरिने विविध संस्कारजन्य अभ्यासहरुमध्ये काठमाडौंका मूलवासीहरुले मनाउँदै आएको जन्मदिन, मातृऔंशी, पितृऔंशी, गुरु पूर्णिमा, वर्षारम्भको पहिलो दिन मनाउने म्हः पूजाको दर्शनपक्ष तथा देवाली एवं गुथी प्रथालगायत अन्य दैनिक व्यवहारमा अपनाउने पञ्चतत्व (पृथ्वी, जल, अग्नि, वायु, आकाश) र पर्यावरण मैत्री आचरण समस्त मानव समाजको लागि अनुकरणीय पक्ष हो।

काठमाडौं उपत्यकाको सभ्यताको सबल पक्ष चर्चा गर्दै गर्दा, यसै सभ्यतामा सुधार हुनुपर्ने पक्ष/गतिविधिले समाजको सुशासनमा पर्न सक्ने र पर्दै आएको चक्रीय प्रभावको पाटोमा केन्द्रित हुने प्रयास गरी यो आलेख प्रस्तुत गरिएको छ। पंक्तिकारलाई जानकारी भएअनुसार फरक समुदायको फरक अभ्यास अनुरुप मनुष्यको जन्मपछि चारदेखि छ महिनाको बीच निश्चित विधिविधान पूरा गरी पहिलोपटक अन्न खान दिन मचाजंक्व (पास्नी) गरिने प्रचलन रहँदै आएको छ। बाल्यकालबाट वृद्धवृद्धा अवस्था हुँदै प्राकृतिक नियमानुसार तथा अन्य कारणले हुने मृत्युपछि आफ्नो समुदायमा स्थापित मान्यता–चलनबाट निर्देशित विधि, प्रक्रिया पुर्‍याई सातदेखि १३ दिनसम्म पितृ उद्घार गर्न कर्मकाण्डीय कार्य गर्ने संस्कार रहेको छ।

मचाजंक्व (पास्नी) र मृत्युवरणको क्रियाकर्ममा अपनाइने विधिविधानको दर्शन पक्षको अधिकांशमा तार्किक आधार भेटिएसम्मका ब्यवहारलाई निरन्तरता दिन सकिए तापनि केही यस्ता अंश छन् जसको उपयोगिताको सम्बन्धमा छलफल÷बहसको विषयवस्तुको रुपमा रहेको छ । यी दुई प्रचलनमा गरिँदै÷हुँदै आएको आफ्नो कुल खान्दानकै परिवारको अतिरिक्त छरछिमेक, इष्टमित्र जम्मा भई भोज खाने र खान दिने चलनलाई उपादेयता र वैज्ञानिकताको दृष्टिले समीक्षा गर्ने क्रममा पाउने÷पाएका यथार्थताका बुँदाहरु यस प्रकार रहेका छन् ।

(१) आयोजना गरिने ती भोजमा वर्तमान परिवेशमा सहभागिताको संख्या सामान्यतः न्यूनतम २ सय ५० जना हुन्छ, जुन बढ्न सक्ने सम्भावना अधिक छ ।

(२) २ सय ५० जनालाई एकै समयमा भोज खान आवश्यक परिकार ब्यवस्था गर्न बस्दै आएको घरको भान्छा र भोजनस्थान पर्याप्त नहुने र सहभागिता÷पाहुनाको ठूलो आकारले गर्दा घर–परिवारले आफैँले परिकार तयार गर्न सम्भव नहुने हुँदा व्यावसायिक भोजनगृहमा वा अतिरिक्त व्यवस्था गरी भोज आयोजना गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा विद्यमान बजारभाउअनुसार एक व्यक्ति एक छाकको न्यूनतम एक हजार रुपियाँको दरले कुल २ लाख ५० हजार रुपियाँ लागतको जोहो गर्नुपर्ने देखिन्छ । छाक एवं पाहुना संख्या बढेको अवस्थामा लागत झन् बढ्ने देखिन्छ, जसको सम्भावना अधिक रहेको छ । उक्त कर्म गर्न/गर्दा लाग्ने लागतको पूँजी सृजना र प्रतिफलको दृष्टिले समाजमा योगदान शून्यप्रायः देखिन्छ।

(३) २ सय ५० जनालाई एक छाक मात्र खान दिने कार्यक्रम तय भएको अवस्थामा खाना खानको लागि आउजाउ गर्न न्यूनतम २ घण्टा लागेमा कुल ५ सय घण्टा लागेको देखिन्छ । उक्त समयमा जमघट भएका समूहबीच रचनात्मक र सृजनात्मक विचार–विमर्श हुने सम्भावना अत्यन्तै न्यून भएकोले सदुपयोग हुन सक्ने न्यूनतम ५ सय घण्टा समय निरर्थकरुपमा बित्ने गर्दछ ।
(४¬) यस भोजका सहभागीहरुले आफ्नो निवासबाट भोजनस्थानसम्म आउजाउ गर्न प्रयोग गरिने यातायातका साधनका लागि लाग्ने लागत रकम उपयोगिताविनाको खर्चसरह हुन्छ ।

काठमाडौंका मूलवासीहरुले सामाजिक संस्कारको आवरणमा गर्ने भोजभतेरको सन्दर्भमा यस आलेखको प्रारम्भमा उल्लेख भएको सबल पक्षलाई संरक्षण र प्रवद्र्वन गर्नु हरदृष्टिले उपयुक्त र अपरिहार्य देखिन्छ । यसलाई निरन्तरता दिने क्रममा आफ्नै कुल–घरानाको निकट परिवारजनको सीमित संख्या भेला भई सामूहिक हित एवं लक्ष्य प्राप्तिका लागि आवश्यक योजना–रणनीति तय गर्न र आपसमा छलफल गर्न उपयुक्त थलो हुने दृष्टिले रचनात्मक तथा निश्चित उद्देश्यबाट प्रेरित भई भोज आयोजना हुनु÷गर्नु व्यावहारिक एवं वैज्ञानिक मानवीय आचरण मान्न सकिन्छ । अर्कोतर्फ माथि चर्चा गरिएको दुई परिघटनामा आयोजना गरिने भोजको मूल पात्र मचाजंक्व (पास्नी)मा बालक÷बालिका हुनु र मृत्युवरणमा मनुष्यले संसार त्याग गरिसकेको अवस्थामा केन्द्रीय व्यक्तित्वले आयोजित भोजको रसास्वादन गर्ने वातावरण नभएकोले यी भोज आयोजना हुनु÷गर्नु तार्किक एवं दार्शनिक आधारको अभावको कारण सामाजिक संस्कारको नाममा रहेको अव्यावहारिक एवं अवैज्ञानिक अभ्यास मात्र ठहर्दछ।


काठमाडौंका मूलवासीले उपरोक्त दुईबाहेक निश्चित समयको अन्तरमा नियमितरुपमा सामाजिक संस्कारको अभ्यासको रुपमा विविध खाले क्रियाकलाप गर्नुपर्दछ । स्वभावतः ती कार्य सम्पन्न गर्न थप मानव श्रम, आर्थिक स्रोत तथा समयको जरुरत पर्दछ। ती स्रोत र साधन एकल पारिवारिक प्रयास तथा नियमित आयस्रोतको परिधिबाट व्यहोर्न नसकिने भएकाले वैकल्पिक स्रोतबाट व्यवस्था गरी गर्नुपर्ने अवस्थामा अतिरिक्त खर्चको लागि थप आर्थिक भार बहन गर्नुपरेको महसुस हुँदाहुँदै सामाजिक प्रतिष्ठाको नाममा सम्पन्न गर्न बाध्य भएको कटु यथार्थता हो । यस्तो अनावश्यक अभ्यासको निरन्तरता नियन्त्रण हुनुपर्नेमा यस विपरीत देखासिकी गरी मुलुकको अन्य क्षेत्रका समुदायबाट समेत संस्कारजन्य अभ्यासकै नाममा आफ्नो परम्परामा नभएको भोजभतेरको प्रथा चलाई थप खर्च गर्ने अभ्यासले अचेल व्यापकता पाउन थालेको छ ।

जुन समुदायको बासिन्दा भए तापनि यस्तो अभ्यासको लागि आवश्यक पर्ने थप आर्थिक भार परिपूर्ति गर्न स्वाभाविक र पारदर्शी आर्थिक क्रियाकलापबाट थेग्ने/जुट्ने अवस्था कमैको मात्र हुन्छ । अधिकांश बासिन्दाले वैकल्पिक स्रोतबाट व्यहोर्नुपर्ने हुन्छ । परिमाणतः सिर्जित थप आर्थिक दायित्वको लागि बासिन्दाको पेसा नोकरी/सेवा भए आफू कार्यरत संगठन सञ्चालन प्रक्रियामा सम्भावित छिद्र खोजी अनुचित दोहन गर्न उद्यत् हुनुपर्ने देखिन्छ। बासिन्दाको पेसा स्वरोजगारी/व्यापारी/उद्यमी भए विभिन्न अपारदर्शी क्रियाकलापको आडमा अत्यधिक मुनाफाखोर हुनुपर्ने देखिन्छ । बासिन्दाको पेसा समाजसेवी/राजनीतिकर्मी भए त्यस्ता कर्मचारी तथा स्वराजगारीहरुको मतियार भई कमिसनखोर हुनुपर्ने बाध्यताले गर्दा समग्र समाज भ्रष्टीकरण उन्मुख भएर सामाजिक प्रणाली आर्थिक दुश्चक्रमा फसी समाजमा सुशासन कायम गरेर लोक कल्याणकारी राज्य प्राप्तिको लक्ष्यमा सामाजिक संस्कारको कतिपय अभ्यासहरु चुनौती र जटिलताको रुपमा देखा परेको छ ।

अन्त्यमा, नेपाली समाजमा सुशासन स्थापित गर्न विगतमा राजनीति तथा अर्थनीतिका सम्बन्धमा धेरै चर्चा–परिचर्चा गरी तत्सम्बन्धी विविध आवरणमा धेरै नीति/वादहरु तय भइसकेको र समाजको संस्कृति एवं संस्कारजन्य अभ्यासहरुको सुधार एवं परिमार्जनप्रति भएको नजरअन्दाज/गाम्भीर्यताको अभावमा नेपाली समाजको विविध आयाममा कुशल नेतृत्व/अगुवा नपाई समग्र समाजको विकासले अपेक्षित पूर्णता प्राप्त नगरेको यथार्थता अनुभूत भएको परिप्रेक्ष्यमा नेपाली समाजको समस्त बौद्घिक वर्गमाझ आजसम्म ओझेल परेको/राखिएको तर निर्विवाद यस तथ्यप्रति चिन्तन, मनन, छलफल, बहसको थालनीबाट आउने उचित निष्कर्षहरु सम्पूर्ण समाजलाई दैनिक व्यवहारमा परिपालन गर्न प्रोत्साहित गरी समग्र समाजलाई सभ्य, सुसंस्कारित तथा सक्षम तुल्याई लोक कल्याणकारी राज्य स्थापनामा योगदान पु¥याउनेतर्फ बौद्घिक वर्गको आगामी व्यवहार निर्देशित हुने अपेक्षा राख्नु न्यायोचित एवं सान्दर्भिक देखिन्छ ।
(लेखक श्रेष्ठ नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशासकीय तथा वित्तीय उपनिर्देशक हुनुहुन्छ ।)