एजेन्सी ।
क्युबाका मिजान लोपेज लगातार पाँच ओलम्पिकमा गोल्ड मेडल जित्ने पहिलो खेलाडी बनेका छन्। लोपेजले पेरिस ओलम्पिक्सअन्तर्गत मंगलवार च्याम्प डे मार्स एरिनामा ग्रीको–रोमन कुस्तीको १३० केजी तौल समूहको फाइनलमा चिलीकी रेस्लर यास्मिन अकोस्टालाई हराएर दुर्लभ कीर्तिमान कायम गरेका हुन ।
चिलीका यास्मिन अकोस्टालाई ६–० अंकले हराएर एउटै व्यक्तिगत इभेन्ट्समा लगातार पाँच ओलम्पिक गोल्ड मेडल जित्ने पहिलो खेलाडी बनेका छन् । यसअघि उनले सन् २००८, २०१२, २०१६ र २०२० मा गोल्ड मेडल जितेका थिए । मिजानले आफ्नो २३ ओलम्पिक खेलमध्ये एक खेलमा मात्र हार बेहोरेका छन् । लोपेजले सन् २००४ एथेन्स ओलम्पिक्समा क्वार्टरफाइनलमा हार ब्यहोरेका थिए।
यसअघि उनीसहित एथ्लेटिक्सका कार्ल लुइस, पौडीका माइकल फेल्प्स र केती लेदेकी, डिस्कस थ्रोका, अल ओर्टर, क्यानोइङका पल एल्भस्ट्रोम, कुस्तीका काओरी इकोले लगातार चार ओलम्पिक्समा स्वर्ण जितेका थिए । क्युबाको लस पलासियोस, पिनार डेल रियोमा सन १९८२ अगस्ट २० मा जन्मेका लोपेजको एक क्युबाली ग्रीको–रोमन पहलवान हुन् । जो खेलकुदका उत्कृष्ट खेलाडीहरू मध्ये एक हुन ।
यसअघि चार ओलम्पिक गोल्ड मेडल जित्ने पहिलो र एकमात्र पुरुष कुस्ती खेलाडी बनेका उनले पाँचवटा ओलम्पिकमा स्वर्ण जितेर नयाँ इतिहास रचेका हुन ।
यस्तो थियो लोपेजको विगत
लोपेजले १० वर्षको हुँदा नै कुस्ती खेल्न थालेका थिए । सानोमा उनलाई ‘द किड’ उपनामले सम्बोधन गरिन्थ्यो । हुर्कँदै गएपछि भने उनलाई ‘द टेरीबल’ अर्थात डरलाग्दो भनेर बोलाउन थालियो। किनभने ठूलो कदका उनको शारिरिक बनावट नै अजङ्गको छ। जुन कुस्ती खेल्नका लागि उपयुक्त थियो।
उनले आफ्नो पहिलो प्रमुख प्रतिस्पर्धा सन २००२ को विश्व च्याम्पियनशिपमा खेलेका थिए। उक्त प्रतियोगितामा लोपेजले १२० केजी तौल समूहको ग्रीको–रोमन इभेन्ट्समा १३औं स्थान हासिल गरेका थिए। उनी २००३ को विश्व वरियतामा १६औं स्थानमा थिए । तर, सन् २०१४ देखि १३० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका उनले त्यसपछिका वर्षहरूमा ठूलो सफलता हासिल गर्न सफल भए ।
उनले सन् २००५, २००७, २००९, २०१० र २०१४ मा विश्व च्याम्पियनसिपको उपाधि जितेका थिए। त्यस्तै, २००६, २०११ र २०१५ मा भने उक्त प्रतियोगिताको रजत पदकमा चित्त बुझाउनु परेका थिए। त्यतिमात्र होइन, लोपेज १० पटक प्यान अमेरिकन च्याम्पियनसिपका विजेता समेत हुन। ४१ वर्षीय लोपेजले पाँचौं स्वर्ण पदक जितेपछि आफ्नो जुत्ता म्याटमा छोड्दै संन्यास लिएको बताए पनि औपचारिक रुपमा घोषणा भने गरेका छैनन्।











प्रतिक्रिया