सहाना प्रधान यू १९ भलिबल हुने



काठमाडौं ।

सहाना प्रधान प्रतिष्ठानको आयोजनामा असारमा प्रथम सहाना प्रधान यू १९ महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।

नेपाल भलिबल संघको प्राविधिक र व्यवस्थापनमा असार ९ गतेदेखि १५ गतेसम्म प्रतियोगिता आयोजना हुने बुधबार पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगितामा ७ प्रदेशका महिला र पुरुषबीच सहभागिता रहने बताइएको छ।

दुबैतर्फको विजेताले ३ लाख, दोस्रोले २ लाख र तेस्रोले १ लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले २५ हजार र व्यक्तिगत विधातर्फ १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताबाट यू १९ राष्ट्रिय टोलीका लागि खेलाडी छनोट गरिने भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए। कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष तथा पूर्वमन्त्री रामकुमारी झाँक्री र भलिबल संघका अध्यक्ष चन्दले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको आर्थिक व्यवस्थापन प्रतिष्ठान र बाँकी जिम्मेवारी संघले निर्वाह गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्