पीएसजीलाई च्याम्पियन्स लिग जिताउन नसकेका सुपरस्टारहरू



काठमाडौं ।

अहिलेको युगमा पुरुष फुटबलतर्फ क्रिस्टियानो रोनाल्डो, लियोनेल मेसी, नेयमार र क्लियन एम्बाप्पेलाई सुपरस्टार खेलाडीका रूपमा चित्रित गरिएका छन्।

पोर्चुगलका रोनाल्डोले रियल मेड्रिडबाट खेल्दा यो स्पेनी क्लबलाई च्याम्पियन्स लिग उपाधिसहित कयौं उपाधि दिलाए। यस्तै स्पेनी लिगमै रहेको अर्को महारथी टोली बार्सिलोनालाई अर्जेन्टिनाका मेसीले च्याम्पियन्स लिग उपाधि दिलाए। ब्राजिलका नेयमारले पनि बार्सिलोनबाट खेल्दा च्याम्पियन्स लिग उपाधि दिलाउन सफल भए।

जब यिनीहरू अन्य क्लबमा स्थानान्तर भए तब भने यिनीहरूको जादु त्यति चल्न सकेन। मेसी र नेयमार फ्रेन्च लिग वानको नम्बर एक टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) जाँदा युरोपेली लिगमा पीएसजीको वर्चश्व रहने अनुमान लगाइयो । किनभने मेसी र नेयमारसँगैं पीएसजीमा युवा सुपरस्टार खेलाडी एम्बाप्पे थिए त्यहाँ। यी तीन खेलाडीको उपस्थितमा पीएसजीले फ्रेन्च लिगमा त वर्चश्व बनायो तर, च्याम्पियन्स लिगमा भने केही पनि उपलब्धि हासिल गर्न सकिएन।

मंगलबार राति जर्मन क्लब बोरुसिया डर्टमण्डसँग पराजित भएर सेमिफाइनलबाटै बाहिरिएपछि एम्बाप्पेको पीएसजीको यात्रा पनि असफल बन्यो। एम्बाप्पेको सपना पीएसजीलाई च्याम्पियन्स लिग उपाधि दिलाउनु थियो। तर, उनको सपना पुरा भएन किनभने यो उनको पीएसजीमा अन्तिम सिजन समेत हो। टेलिभिजनमा प्रत्यक्ष प्रशारणमा हेर्दा पनि एम्बाप्पेले बल छुन पनि कठिन भएको थियो। उनले प्रहार गरेको केही शटहरूमा पोस्टबार खलनायक पनि बनेको थियो ।

नेयमार सन् २०१७ मा र मेसी सन् २०२१ मा पीएसजीसँग आबद्ध भएका थिए । २०१७ देखि पीएसजीले सबै जसो उपाधि हासिल गर्‍यो। सात लिग वानमध्ये ६ वटा उपाधि, तीन फ्रेन्च कप, लिग कप जितेको थियो। तर, यति समयमा पीएसजीले एक पटक मात्रै २०२० मा च्याम्पियन्स लिगको फाइनल खेल्न सकेको थियो। त्यो फाइनल पीएसजीले जित्न सकेन भने अर्को वर्ष सेमिफाइनल पुगेको थियो। जब नेयमार र मेसी क्लबबाट बहिर्गमन भएपछि भने यही सिजन २०२३–२४ मा पीएसजी च्याम्प्यिन्स लिगको सेमिफाइनलसम्म पुग्यो।

पीएसजीको २०१६–१७, २०१७–१८ र २०१८–१९ सिजन गरी तीन लगातार च्याम्पियन्स लिगको यात्रा अन्तिम १६ सम्म मात्रै रह्यो। २०१९–२० सिजनको च्याम्पियन्स लिगमा भने पीएसजी फाइनल पुगेको थियो। धेरै लामो समयपछि पीएसजी फाइनल पुग्दा र नेयमार जस्ता सुपरस्टार टोलीमा रहेको हुँदा पीएसजीले पहिलो च्याम्पियन्स लिग उपाधि जित्ने अपेक्षा थियो। तर, च्याम्पियन्स लिगको अनुभवी जर्मन टोली बायर्न म्युनिखले फाइनल खेल १–० ले जितेर पीएसजीलाई निरास पारिदियो।

पीएसजी २०२०–२१ सिजनमा पनि सेमिफाइनल पुगेको थियो । यसपटक पीएसजी म्यानचेस्टर सिटीसँग पराजित भएको थियो। यसपछिको सिजन २०२१–२२ मा अन्तिम १६ सम्म पुगेको पीएसजी रियल मेड्रिडसँग पराजित भयो। यसपटक नेयमार, एम्बाप्पे र मेसी तीनै सुपरस्टारको उपस्थित थिए। २०२२–२३ सिजनमा पीएसजी अन्तिम १६ मा बायर्न म्युनिखसँग हारेको थियो।

२०२३–२४ मा सेमिफाइनलसम्म पुग्दा एम्बाप्पे एक्लो स्टार खेलाडी बाँकी रहे। उनले सेमिफाइनलमा निकै मेहनत गरेपनि पीएसजीलाई फाइनल पुर्‍याउन सकेनन्। यो हारपछि उनको पीएसजीको यात्रा असफलको रुपमा चित्रित समेत गरियो।

प्रतिक्रिया दिनुहोस्