राष्ट्रिय फुलकन्ट्याक्ट कराते सुरु



काठमाडौं ।

नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १८ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १७ औं राष्ट्रिय महिला खुला फुलकन्ट्याक्ट कराते प्रतियोगिता सोमबारदेखि शुरु भएको छ।

प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी र एपीएफ गरी ९ टिमका ८० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ। पुरुषमा ४ र महिलामा १ गरी ५ स्पर्धामा प्रतिस्पर्धा भइरहेको आयोजक वज्रका अध्यक्ष जगतप्रसाद गौचनले जनाए।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा पहिलो दिन पुरुष ७० केजीमा आर्मीका विकास गुरुङ, आईकेओका अमित महर्जन, एपीएफका अजय तामाङ, क्योकुसिन वज्रका विशाल सुनुवार, केडब्लुडब्लुका सरोज श्रेष्ठ, क्योकुसिन कानका रविन्द्र बुढाथोकी, सो क्योकुसिनका सागर श्रेष्ठ र एपीएफका पेम्बा छिरिङ तामाङ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

महिला खुलामा आर्मीकी अनुपा नेपाली, एपीएफकी रिना माझी, क्योकुसिन वज्रकी गायत्री रोका, एपीएफकी सुमित्रा आले, एपीएफकी अनिशा तामाङ, आर्मीकी सपना आले, आर्मीकी अप्सरा कुमाल र क्योकुसिन बुदोकी कविता मोक्तान क्वाटरफाइनलमा स्थान बनाउन सफल रहे ।

पुरुष/महिला दुवैको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । चौथो हुने खेलाडीलाई पनि नगद पुरस्कार दिइने बताइएको छ। प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस्