लेभरकुसेनको निरन्तर जित



एजेन्सी ।

जारी सिजनको जर्मन बुन्डेसलिगा फुटबल च्याम्पियन बनिसकेको बायर लेभरकुसेनले जितको यात्रालाई निरन्तरता दिएको छ।

बुन्डेसलिगाअन्तर्गत आईतबार राति सम्पन्न खेलमा लेभरकुसेनले फ्रेन्कफर्टलाई हराउँदै जितको यात्रालाई निरन्तरता दिएको हो। ड्यूश बैंक पार्कमा सम्पन्न खेलमा लेभरकुसेनलले घरेलु टोली फ्रेन्कफर्टलाई ५–१ गोलअन्तरले पराजित गरेको थियो।

लेभरकुसेनका जितमा ग्रेनाइट जाका, प्याट्रिक शिक, एक्जेक्विएल पलासियस, जेरेमी फ्रिमपोङ र भिक्टर बोनिफेसले एक–एक गोल गरेका थिए। घरेलु टोलीका लागि ह्युगो एकिटिकेले एक गोल फर्काएका थिए।

जितसँगै लिगमा अन्तिम दुई खेल खेल्न बाँकी रहेको लेभरकुसेनले ३२ खेलबाट ८४ अंक जोडेको छ । यता पराजित फ्रेन्कफर्ट समान खेलमा ४५ अंकसहित छैटौं स्थानमा रहेको छ।

गोलरक्षक लुकासको कीर्तिमान

बायर लेभरकुसेनका गोलरक्षक लुकास हर्डेकीले बुन्डेसलिगामा कीर्तिमान बनाएका छन्। हर्डेकीले फ्रेन्कफर्टविरुद्ध खेल्दै विदेशी गोलरक्षकका रूपमा २ सय ९२ औं खेल खेल्ने कीर्तिमान कायम गरेका हुन्।

उक्त खेलमा जित निकाल्दा ३४ वर्षीय फिनल्यान्डका गोलरक्षकले बोरुसिया मोन्चेनग्लाडबाख र बायर्न म्युनिख तथा स्विट्जरल्यान्डका गोलरक्षक यान सोमरको रेकर्ड तोडेका हुन्। हर्डेकी सन् २०१५ मा फ्रेन्कफर्टमा आबद्ध भएका थिए। त्यसको तीन वर्षपछि उनी लेभरकुसेनमा पुगेका थिए। फ्रान्कफर्टबाट उनले १ सय १ खेल खेले।

आइतबारको खेल लेभरकुसेनका लागि उनको १ सय ९१ औं लिग खेल थियो । उनले आफ्नो सरूवापछि फ्रेन्कफर्टमा लेभरकुसेनलाई जिताएको पहिलो पटक थियो । हर्डेकीले यस सिजन लेभरकुसेनसँग बुन्डेसलिगाको उपाधि जितिसकेका छन् । सिजनको शुरूआतदेखि नै सबै प्रतियोगिताका ४८ खेलमा लेभरकुसेनले अपराजित यात्रा तय गरेको छ ।

युरोपा लिगको सेमिफाइनलको दोस्रो लेगमा लेभरकुसेनले रोमाको सामना गर्नेछ। गत साता रोममा भएको पहिलो लेगमा लेभरकुसेनले २–० गोलअन्तरको जित हासिल गरेको थियो। त्यसपछि लेभरकुसेनले बुन्डेसलिगाको अन्तिम खेलका लागि बोचुमको भ्रमण गर्नेछ । बोचुमले गत सिजनको अन्तिम दिन लेभरकुसेनलाई पराजित गरेको थियो।

जर्मन च्याम्पियनले आफ्नो लिग अभियान अग्सबर्गको घरेलु मैदानमा समाप्त गर्नेछ। लेभरकुसेनले मे २५ मा जर्मन कपको फाइनलमा दोस्रो डिभिजनको काइसरस्लाउटर्नको सामना गर्नेछ।

रोमा र युभेन्ट्सले अंक बाँडे

इटालियन सिरी ए अन्तर्गत आइतबार राति भएको खेलमा रोमा र युभेन्ट्सले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । ओलम्पिक मैदानमा घरेलु टोली रोमाले अग्रता बनाएपनि त्यसलाई जोगाउन सकेन । खेलको १५औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै रोमालाई १–० को अग्रता दिलाएका थिए ।

पहिलो हाफमै पाहुना टोली युभेन्ट्सले खेल बराबरीमा ल्याउन सफल भयो । खेलको ३१औं मिनेटमा ग्लेसन ब्रेमरले बराबरी गोल गरेका थिए । उक्त नतिजासँगै युभेन्ट्स ३५ खेलबाट ६६ अंकसहित तेस्रो स्थानमा छ।

समान खेलबाट ६० अंकसहित रोमा पाचौँ स्थानमा रह्यो । ८९ अंकसहित इन्टर मिलान शीर्ष स्थानमा रहँदै यसअघि नै जारी सिजनको इटालियन सिरी ए च्याम्पियन बनिसकेको छ।

प्रतिक्रिया दिनुहोस्