दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल नहुने सम्भावना बढ्यो



काठमाडौं ।

नेपालको अन्तर्राष्ट्रिय खेल खेलाउने एक मात्र रंगशालामा अब अन्तर्राष्ट्रिय खेल आयोजना नहुने सम्भावना बढेको छ।

त्रिपुरेश्वरस्थित रहेको दशरथ रंगशालालाई एसियाली फुटबल महासंघ (एएफसी) ले तीन विषयमा प्रश्न उठाएपछि अन्तर्राष्ट्रिय खेल नहुने सम्भावना बढेको हो। गत साता एएफसीले दशरथ रंगशालाको निरीक्षणपछि त्यहाँ देखिएका विभिन्न पक्षमा प्रश्न उठाएको हो।

एन्फाले जनाएअनुसार दशरथ रंगशालाको मैदान, फ्लडलाइट र सुरक्षासम्बन्धी तीन विषयमा एएफसीले प्रश्न उठाएको हो। प्रारम्भिक चरणको निर्णयपछि एएफसीले एन्फालाई अन्तर्राष्ट्रिय खेल आयोजना गर्न नदिने भएपछि अन्तर्राष्ट्रिय मान्यतासमेत गुमाउने सम्भावना छ। यस विषयमा एन्फाले एएफसीसँग छलफल गरिरहेको पनि जानकारी गरायो।

एन्फाका महासचिव किरण राईले एएफसीका प्रतिनिधि आउँदा र रंगशालाको निरीक्षण गर्दा केही समस्या भेटिएको बताउनुभयो। महासचिव राईले भन्नुभयो– ‘एएफसीका प्रतिनिधिले निरीक्षण गर्दा फ्लड लाइट, सुरक्षा र मैदानबारे प्रश्न उठाउनुभएको हो। अहिले यी विषयमा गम्भीर भएकाले पनि यस्तो प्रश्न उठेको हो । उहाँहरूले उठाउनुभएको कुरामा एन्फाले छलफल गरिरहेको छ । हेरौं के हुन्छ।’

यदि, यो समस्याबाट हल ननिस्केमा फिफा विश्वकपअन्तर्गत अर्को छनोट खेल पनि नेपालमा हुनेछैन। नेपालले जेठ २० गते यूएईसँग घरेलु मैदानमा खेल्ने खेलतालिका रहेको छ। त्यति समयभित्र कुरा नमिलेमा खेल अन्तै सारिने छ। गत चैतमा पनि दशरथ रंगशालाको मैदानलाई लिएर समस्या उत्पन्न भएपछि नेपालले बहराइनमा गएर खेल्नुपरेको थियो ।

यो घटना घटेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फाबाट मैदान हेरचाहको जिम्मेवारी परिषद्अन्तर्गत राखेको हो। तर, राखेपले मैदानलाई सुधार्ने काम निरन्तर गरिरहे पनि एएफसीले मैदानलाई मान्यता दिएन।

प्रतिक्रिया दिनुहोस्