सी डिभिजन खेलेका तीन खेलाडीमाथि कारबाही



काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) अनुशासन समितिले सुमनबहादुर मगर, बिबिन बोहरा र अशोक दलार्मीलाई जारी सहिद स्मारक ‘सी’ डिभजन लिगमा प्रतिबन्ध लगाएको छ। उनीहरु ‘बी’ डिभिजन क्लबमा दर्ता भएका र फुकुवा पत्र बिना ‘सी’ डिभिजन खेलेको भन्दै एन्फाले कारवाही गरेको हो।

सुमन र बोहराले आरसी ३२ फुटबल एकेडेमी तथा अशोकले स्वयम्भू क्लबबाट सी डिभिजन लिग खेलिरहेका हुन्। बबिन र अशोक श्री भगवती क्लब तथा सुमन झापा फुटबल क्लबमा दर्ता रहेका छन्। गत चैत २२ गते खालिबारीविरुद्ध सुमन र बैशाख १० गते समाजिक युवा क्लबविरुद्ध बबिनलाई खेलाएकोमा आरसी ३२ विरुद्ध उजुरी परेको थियो ।

क्लबमा आबद्ध खेलाडीले खेल्नुपूर्व कम्तीमा ४८ घण्टा अगाडि दर्ता गर्नुपर्ने व्यवस्था रहेकोमा आरसी ३२ र बबिनले प्रतियोगिता नियमावलीविपरीत कार्य गरेको पुष्टि भएकोले कारबाही गरिएको एन्फाले स्पष्ट पारेको हो।

लिग प्रतियोगिता नियमावली २०२४ को नियम २८ अनुसार बबिनलाई अनुशासनको कारबाही गरी खेल रद्द गरिएको एन्फाले जनाएको छ। योसँगै उक्त खेलमा सामाजिक युवा क्लबलाई ३–० को जित दिलायो भने आरसी ३२ लाई दुवै खेलमा १० हजार जरिवाना पनि लगाइएको छ।

यस्तै, श्री भगवती क्लबमै दर्ता भएका अशोकलाई स्वयम्भू क्लबले खेलाएको भन्द बागमती युवा क्लबले उजुरी गरेको थियो। उक्त उजुरीपश्चात् छानबिन गर्दा उनी दोषी पाइएकोले कारबाही गरिएको एन्फाले जनाएको छ।

योसँगै स्वयम्भूविरुद्धको उक्त खेलमा बागमतीलाई ३–० गोलको नतिजा दिने निर्णय पनि गरियो। साथै स्वयम्भूलाई १० हजार रुपैयाँ जरिवाना पनि तिराउने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्