गौरिटारमा पौडीपोखरी र क्रिकेट मैदान निर्माण सुरु



काठमाडौं ।

गौरिटार रंगशालामा धमाधम खेल पूर्वाधारहरू निर्माण हुन थालेका छन्। लामो समयदेखि अलपत्र परेको गौरिटार प्रदेश सरकारले आफ्नो गौरवको योजनामा राखेपछि पूर्वाधारहरु निर्माण हुन थालेका हुन।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले गौरिटारमा अन्तराष्ट्रियस्तरको पौडीपोखरी र क्रिकेट मैदानको शिलान्यास गर्नुभएको छ। आगामी वर्ष २०८२ असार मसान्तभित्र सम्पन्न गर्ने गरी दुवै संरचनाको निमार्ण शुरु भएको प्रदेश खेलकुदका सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिएका छन्।

८ करोड ६३ लाखको लागतमा निर्माण हुने पोखरीमा भीआईपी प्याफीटसहित २५/५० मिटर र २५/१० मिटरको पौखरी निर्माण हुने शिलान्यासका अवसरमा जानकारी दिईएको छ।

यस्तै ड्रेनसहितको क्रिकेट मैदान पनि निर्माण शुरु भएको छ। ११ करोड ७४ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानमा स्कोरबोर्ड, ५ वटा पिचसहित ६ सय क्षमताको प्याराफीट निर्माण हुने बताईएको छ।

निर्माणको शिलान्यास गर्दै प्रदेशका मुख्यमन्त्री जमरकटेलले निर्धारित समयमै कार्य सम्पन्न गर्न सम्वन्धित पक्षलाई निर्देशन दिएका छन् । गौरिटारलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको मुख्यमन्त्रीले बताए। देशकै उत्कृष्ट खेल पूर्वाधार गौरिटारमा बनाउने उद्देश्यका साथ काम थालेको पनि कटेलले बताए।

केन्द्रीय खेलकुद प्रतिष्ठानका रूपमा विकास गर्ने भन्दै २०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेका थिए। तर, यसपछि पनि गौरिटारमा निर्माणको गति निकै सुस्त भएको थियो।

२२ विगाह, १८ कठ्ठा र १९ धुर क्षेत्रफलमा फैलिएको रंगशालामा हाल प्रदेश सरकारले ट्रयाकसहितको फुटबल मैदान र प्याराफीटको काम अन्तिम चरणमा पुर्‍याएको प्रदेश खेलकुद सदस्य सचिव भण्डारीले जानकारी दिए। यस रंगशालाभित्र २१ वटा संरचना बन्नेछन्।

राष्ट्रिय खेलकुद परिषद्ले दुई कभर्डहल र खेलाडी छात्राबास निर्माण गरेको थियो। त्यस पछि उक्त योजना परिषद्को बजेटमा नपरेपछि बागमती प्रदेशले निर्माण कार्य अघि बढाएको हो।

प्रतिक्रिया दिनुहोस्