हक्कीको उपाधि आर्मीलाई



काठमाडौं ।

नेपाल आर्मी क्लबले छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ। मंगलबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई ४–१ गोल अन्तरले हराउँदैं उपाधि जित्न सफल भएको हो।

धुलिखेल खेल मैदानमा आर्मीलाई जित दिलाउन सरस्वती तामाङले दुई गोल गरिन्। सिमा खड्का र कमला चन्दले एक एक गोल गरिन्। उता गण्डकीका लागि सीतामाया बलले एक गोल फर्काइन्।

आर्मीका लागि चौथो मिनेटमा सरस्वतीले गोल गर्दै टिमलाई अग्रता दिलाइन्। गण्डकीका लागि १६औं मिनेटमा सीताले गोल गर्दै टिमलाइ बराबरीमा ल्याइन्। १८ औं मिनेटमा सरस्वतीले गोल गर्दै आर्मीलाई २–१ गोलको अग्रता दिलाइन्।

२४ औं मिनेटमा कमलाले गोल गर्दै टिमलाई ३–१ गोलको अग्रतामा राखिन्। ५७ औं मिनेटमा सिमाले गोल थपेपछि आर्मीको उपाधि सुरक्षित भएको थियो । आर्मीले एक लाख रुपैयाँ प्राप्त गरेको छ। दोस्रो हुने गण्डकीले ७५ हजार प्राप्त गरेको छ। यस्तै सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई १–० गोल अन्तरले हराउँदै तेस्रो स्थान हासिल गरेको थियो।

प्रतियोगितामा सर्वाधिक १० गोल गरेकी आर्मीकी सरस्वती सर्वाधिक गोलकर्ता भइन्। उदीयमान खेलाडी सुदूरपश्चिमकी नमिता एसके चुनिइन्।

गण्डकीकी गोमा परियार गोलकीपरमा, आर्मीका सरिता मेचे डिफेन्डरमा उत्कृष्ट भए। उनीहरूले समान १० हजार नगद प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्