१५ पदाधिकारी बेलायत जान नपाउने



काठमाडौं ।

बेलायतमा हुने दुई मैत्रिपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टोलीसँगैं जाने थप १५ पदाधिकारीहरू हालका लागि बेलायत जान नपाउने भएका छन्।

यस विषयमा युवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसँग मंगलबार छलफल गरेका हुन्।

भीसा ढिलाईको विषयमा मन्त्री श्रेष्ठलाई जानकारी गराउँदंै एन्फा महासचिव राईले रातिसम्म भीसा आउने बताए। भीसा लिन कै लागि भारतको दिल्लीमा पठाएको पनि महासचिव राईले जानकारी गराए।

एन्फाले मैत्रीपूर्ण खेलको लागि खेलाडी र पदाधिकारी गरी कूल ३० जनाको नाम परिषद्मा पठाएको र स्वीकृती दिएको सदस्य सचिव घिसिङले मन्त्री श्रेष्ठलाई जानकारी गराए। यसबाहेक ५ जना एन्फा भीआईपी र १५ जना अन्य एन्फा पदाधिकारीको सहभागिताको स्वीकृतीको लागि परिषद्मा कुनै पत्र नआएको सदस्य सचिव घिसिङले स्पष्ट पारे।

यस विषयमा एन्फा महासचिव राईले खेलाडी र टोलीको मात्र स्वीकृती लिनुपर्ने भएकाले अरूको हकमा स्वीकृती नलिएको जिकिर गरे । उनले बाँकी २० जना आफ्नै खर्चमा जाने पनि बताए । तर एन्फाले बेलायती राजदुतावासमा उनीहरूको भीसाको लागि सिफारिस गरेको पनि बताए।

राष्ट्रिय खेलकुद ऐेनअनुसार खेलाडी पदाधिकारी सबैले स्वीकृती लिनुपर्ने व्यवस्था भएको सदस्य सचिव घिसिङले बताए। सोही बमोजिम अन्य १५ पदाधिकारीहरू बेलायत जानको लागि परिषद्बाट स्वीकृती लिनुपर्ने मन्त्री श्रेष्ठले जिकिर गरेका छन्। स्वीकृती नलिएसम्म हालको लागि १५ पदाधिकारीहरू बेलायत जान पाउने छैनन्।

युवा तथा खेलकुद मन्त्रालयले परिषद्को स्वीकृती बिना १५ एन्फा पदाधिकारीलाई बेलायत जान रोक लगाउन गृह मन्त्रालयलाई पनि पत्र पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्