लुम्बिनीलाई क्रिकेट उपाधि



काठमाडौं ।

पहिलो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ।

मूलपानी क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ३१ रनले हराएको हो। लुम्बिनीले १ सय १७ रनको लक्ष्य दिएको जवाफमा कर्णालीको टोली १५.३ ओभरमा ८५ रनमा अलआउट भएको थियो।

लुम्बिनीका अभिषेक गौतम एक्लैले पाँच विकेट लिएपछि कर्णालीको ब्याटिङ धर्मराउन पुगेको थियो । यस्तै नर सार्कीले दुई तथा देव खनाल र निर्मल गुरुङले समान एक/एक विकेट लिए। कर्णालीका लागि विपिन शाही (२८ रन) र विपिन रावल (२३ रन) बनाउनुबाहेक अन्यले निरास पारेका थिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय १६ रन बनाएको थियो। टोलीका लागि म्रिनाल गुरुङले सर्वाधिक २७ रनको योगदान दिए।

विराट भण्डारीले २६ रन जोडे भने कृष्ण कार्कीले २२ रन बनाए। कर्णालीका लागि युनिस ठकुरीले तीन विकेट लिए भने दिनेश अधिकारी र दिवान पुनले समान दुई /दुई विकेट लिए । त्यस्तै प्रकाश जैशीले एक विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्