चर्चित बन्दै लौरेस अवार्ड



काठमाडौं ।

लौरेस अवार्ड बारेमा धेरैलाई थाहा नहुन सक्छ। उत्कृष्ट फुटबलरलाई बर्षेनी प्रदान गरिने फिफा प्लेयर अफ डी ईयर, बालोन डे ओर जत्तिको चर्चित नभएपनि लौरेस वल्र्ड स्पोर्ट्स अवार्डलाई खेलकूद जगतको ओस्कार अवार्ड रुपमा लिन थालिएको छ। किनभने यो समग्र खेलकुदका उत्कृष्ट खेलाडीलाई बार्षिक रुपमा प्रदान गरिने अवार्ड हो।

सन् १९९९ मा लौरेस स्पोर्ट्स फोर गुड फाउण्डेसनका संरक्षकद्वय जर्मनीका डेमलर, स्विजरल्याण्डका रिचमोन्टे तथा विश्वप्रसिद्ध ब्यापारिक संस्था मर्सिडिज बेन्ज र आईडब्लूसी स्काफहाउसेनको संयुक्त प्रयासमा यो अवार्डको स्थापना गरिएको हो।

सन् २००० बाट पहिलो पटक मोनाकोबाट प्रदान गर्न थालिएको यस अवार्डले अहिले चौबीसौं संस्करण पार गरिसकेको छ। सन् २००९ मा विश्वभर आर्थिक मन्दी भएका कारण यो अवार्ड सो वर्ष आयोजना गरिएको थिएन। वार्षिक रुपमा दिइने यो अवार्ड विश्व खेलकुदमा वर्षभरि गरेको उत्कृष्ट प्रदर्शनको आधारमा प्रदान गरिंदै आएको छ। विश्व खेलकूदअन्तर्गत विभिन्न विधामा उत्कृष्ट हुनेले यो अवार्ड प्राप्त गर्दै आइरहेको छ।

जसअन्तर्गत वल्र्ड स्पोर्ट्सम्यान अफ दी ईयर, वल्र्ड स्पोर्ट्स वोमन अफ दी ईयर, वल्र्ड टिम अफ दी ईयर, वल्र्ड कमब्याक अफ दी ईयर, वल्र्ड ब्रेकथ्रु अफ दी ईयर, डिस्क्रेस्नरी अवार्ड, स्पोर्ट्स फोर गुड अवार्ड, वर्ल्ड एक्सन स्पोर्ट्स पर्सन अफ दी ईयर र वल्र्ड स्पोर्ट्स पर्सन अफ डी ईयर विथ डिसएबिलिटी विधामा अवार्ड प्रदान गरिन्छ।

लौरेस मनोनयन प्यानलले प्रत्येक विधाबाट ६ जनालाई अन्तिम प्रतिस्पर्धाका लागि छनौट गर्छ । जसमध्येबाट एक जनाको नाम विजेताको रुपमा घोषणा गरिन्छ। प्यानलले छनौट गरेकालाई विभिन्न खेलसम्बद्ध ब्यक्ति, पत्रकार तथा लेखक र लाउरेस वल्र्ड स्पोर्ट्स एकेडमीका सदस्यहरुले दिएको मतको आधारमा विजेताको घोषणा गरिन्छ।

वल्र्ड एक्सन स्पोर्ट्स पर्सन अफ दी ईयर र वल्र्ड स्पोर्ट्स पर्सन अफ दी ईयर विथ डिजएबिलिटीको विजेताको छनौट भने तोकिएको प्राविधिक टोलीको विशेषज्ञको छनौटको आधारमा गरिन्छ । लौरेस अवार्डले चौबीसौं संस्करण पार गरिसक्दा वल्र्ड स्पोर्ट्सम्यान अफ दी ईयरको पुरुषतर्फ जम्मा ११ र महिलातर्फ १९ जना फरक–फरक खेलाडीले प्राप्त गरेका छन् ।

सर्वाधिक पाँच पटक उक्त अवार्ड जित्नेमा दुई खेलाडी छन् । जसमा टेनिसको वर्चश्व रहेको छ । टेनिसका रोजर फेडेरर र नोभाक जोकोभिचले समान पाँच पटक यो अवार्ड जितेका छन् । त्यसैगरी एथ्लेटिक्सका उसेन बोल्टले चार पटक, फुटबलर लियोनल मेसी, गल्फका टाइगर उड्स, टेनिसका राफेल नाडाल र फरमुला वानका माइकल सुमेकरले समान दुई–दुई पटक यो अवार्डमा आफ्नो नाम लेखाएका छन् ।

त्यस्तै, महिलावर्गमा पनि टेनिस खेलाडीले नै सर्वाधिक उपाधि उचाल्ने श्रेय पाएका छन् । अमेरिकाकी सेरेना विलियम्स सर्वाधिक चार पटक लौरेस वल्र्ड स्पोर्ट्स अवार्ड जित्ने एक मात्र महिला खेलाडी हुन् । सन् २००३ मा पहिलो पटक उक्त अवार्ड हात पार्दा उनले फ्रेन्च ओपन, विम्बल्डन र यूएस ओपन गरी तीन ग्रान्डस्लाम एकै वर्ष जितेकी थिईन् ।

त्यस्तै, सेरेनाले २०१० मा दोस्रो पटक उक्त अवार्ड प्राप्त गर्दा दुई ग्रान्डस्लाम जितेकी थिइन् । उनले सन् २०१६ मा लौरेस अवार्डमाथि ह्याट्रिक गर्दा तीन ग्रान्डस्लाम जितेकी थिईन् । त्यसैगरी अमेरिकाकी जिम्न्यास्टिक खेलाडी सिमोना बाइल्सले तीन पटक तथा एलेना इसिनबाएबाले दोहा¥याएर यस अवार्डमा नाम लेखाएकी छन् ।

लौरेस अवार्ड २०२४

टेनिसस्टार नोभाक जोकोभिचले सवार्धिक पाँचौं पटक पुरुषतर्फको लौरेस वल्र्ड स्पोर्टसम्यान अफ द इयर अवार्ड हात पारेर टेनिसकै रोजर फेडेररसँग बराबरी गरेका छन्। स्पेनमा यही साता भएको एक भब्य कार्यक्रमबीच जोकोभिचले उक्त अवार्ड जितेका हुन्। १२ वर्षको अन्तरालमा उनले पाँचौ पटक यो अवार्डमा आफ्नो नाम लेखाएका हुन् । उनले पहिलो पटक सन् २०१२ मा २४ वर्षको उमेरमा यो अवार्ड जितेका थिए।

त्यसअघि सन् २००५ देखि २००८ सम्म लगातार चार पटक लौरेस वल्र्ड स्पोर्ट्सम्यान अफ दी ईयर उपाधि जितेर टेनिसका अर्का स्टार रोजर फेडेररले सनसनी मच्चाएका थिए । स्वीस टेनिसस्टारले उक्त चार वर्षभित्र समान तीन–तीन पटक विम्बल्डन र यूएस ओपन तथा दुई पटक अस्ट्रेलियन ओपन जितेका थिए । त्यस्तै, सन् २०१८ मा दस वर्षपछि पाँचौ पटक यस अवार्डमा नाम लेखाएका थिए ।

त्यसैगरी यस वर्ष महिलातर्फ स्पेन तथा बार्सिलोनाकी फुटबलर आइटाना बोनमतीले यो अवार्ड जितेकी छन् । बालोन डी’ओर विजेता मिडफिल्डर बोनमतीले क्लबलाई सन् २०२२–२३ को सिजनमा लिगा एफ, स्पेनिस कप र महिला च्याम्पियन्स लिग तथा २०२३ मा देशलाई फिफा महिला विश्वकप जिताउन महत्वपूर्ण योगदान गरेकी थिइन् ।

महिला विश्वकप जितेको स्पेनिस महिला फुटबल टिमले भने लौरेस टिम अफ द ईयर अवार्ड जितेको छ । गत वर्ष अस्ट्रेलियामा सम्पन्न फिफा महिला विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा इंग्ल्याण्डलाई १–० गोलअन्तरले हराउँदै स्पेन पहिलो पटक महिला विश्वविजेता बनेको थियो ।

त्यसैगरी इंग्ल्यान्ड तथा स्पेनिस क्लब रियल मेड्रिडका युवा मिडफिल्डर जुड बेलिङघमले सन् २०२४ को लौरेस वल्र्ड स्पोर्टस ब्रेकथ्रू अफ द इयर अवार्ड जितेका छन् । गत वर्ष जर्मन क्लब बोरुसिया डर्टमन्डबाट ८ करोड ९० लाख मिलियन पाउण्डमा रियल भित्रिएका २० वर्षीय बेलिङघमले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनले आइतबार एल क्लासिकोमा बार्सिलोनाविरुद्ध ३–२ को जितमा निर्णायक गोल गरेका थिए । बेलिङघमले यो सिजन स्पेनिस ला लिगामा १७ गोल गरिसकेका छन् ।

त्यसैगरी खेलकुदमा उत्कृष्ट पुनरागमन गर्नेलाई प्रदान गरिने लौरेस कमब्याक अफ द ईयर अवार्ड अमेरिकी जिमन्यास्टिक खेलाडी सिमोना बाइल्सले प्राप्त गरेकी छन्। जिमन्यास्टिक खेलमा लेजेन्डको परिचय बनाएकी बाइल्स सन् २०२० को टोकियो ओलम्पिकपछि मानसिक अस्वस्थता कारण एकाएक विश्व खेलकुदबाट हराएकी थिईन् । तर, २०२३ मा खेलमा फर्केकी उनले बेल्जियममा भएको वल्र्ड आर्टिस्टिक जिमन्यास्टिक च्याम्पियनसिपमा चार स्वर्ण पदक जित्दै उत्कृष्ट पुनरागमन गर्न सफल भईन्।

२०२४ को लौरेस अवार्ड विजेता
वर्ष पुरुष खेलाडी – नोभाक जोकोभिच ( टेनिस)
वर्ष महिला खेलाडी – आइताना बोनमती ( फुटबल)
टिम अफ द इयर – स्पेन महिला फुटबल टोली
ब्रेक थ्रु अवार्ड – जुड बेलिङघम (फुटबल)
कमब्याक अफ द इयर – सिमोन बाइल्स (जिम्नास्टिक्स)
पारा वर्ष खेलाडी – डिडे डे ग्रुट (टेनिस)
एक्सन स्पोटर््सपर्सन – अरिसा ट्रू (स्केटबोर्डिङ)
स्पोर्ट फर गुड अवार्ड – राफेल नाडाल (टेनिस)

प्रतिक्रिया दिनुहोस्