जापानमा सुष्मालाई स्वर्ण

नेपाललाई कूल ११ पदक



काठमाडौं ।

नेपालकी सुष्मा श्रेष्ठले जापानको ओसाकामा भएको २० औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा स्वर्ण जितेकी छन् ।

साकाइस्थित ओहामा स्टेडियममा भएको प्रतियोगितामा नेपालले एक स्वर्ण, छ रजत र चार कांस्यसहित कूल ११ पदक हासिल गरेको हो । नेपाललाई एक मात्र स्वर्ण पदक दिलाउने सुष्मा ६२ केजी मुनि तौल समूहमा च्याम्पियन बनेकी हुन्। उनले फाइनलमा जापानकी उमेकावा आयुमीलाई १२–९, ३–० ले हराएकी थिइन्।

साग स्वर्णधारी वीरबहादुर महरा भने जापानकी खेलाडीसँग हारेर रजतमै सीमित भए। महरा उपाधि भिडन्तमा ताकाटो काटोसँग ८–१७, ५–४ ले हारेका थिए । यस्तै श्रीकृष्ण खड्का, निरज देउवा, शानी राना मगर, राहुल कुमाल र रौनक गिरीले पनि रजत जितेका थिए।

८७ केजी मुनि श्रीकृष्ण फिलिपिन्सका जुलियस फ्रान्क तानो, ८७ केजी माथि निरज जापानका मिनागावा तोरु र राहुल जापानका साइतो सोसँग पराजित भएका थिए । महिला ७३ केजी मुनि शानी जापानकै उमेकावा आयोमीसँग हारेर स्वर्ण पदकबाट वञ्चित भइन्। क्याडेट पुरुष पुम्सेमा जापानका खेलाडीसँग हारेर रौनक दोस्रो भए। यसैगरी ६८ केजी धनबहादुर तामाङ र राजन भण्डारीले कांस्य जितेका थिए।

नेपाल महिला टिमकी प्रशिक्षक विद्या राईले सुष्माबाट स्वर्ण पदक प्राप्त भएकोमा खुशी व्यक्त गर्दै उनले टेक्निकल खेल खेलेर जापानी खेलाडीलाई हराएकोमा आफू अझ बढी खुशी भएको प्रतिक्रिया दिइन्।

प्रतिक्रिया दिनुहोस्