सुप्रिम सहकारी पीडित सडकमा, गृहमन्त्री लामिछानेमाथि छानबिन माग



बुटवल ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितले रकम अपचलनमा संलग्न गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गर्दै मंगलबार बुटवलमा प्रदर्शन गरेका छन् । उनीहरुले सरकारले सहकारी पीडितहरुलाई न्याय नदिएको, गृहमन्त्री रवि लामिछाने नै सुप्रिमसहकारीको रकम हिनामिना गरेको, सुप्रिम सहकारीका पूर्व अध्यक्ष जीबी राईलाई पक्राउ नगरेको भन्दै जनदवाब स्वरुप प्रदर्शन गरेका हुन ।

बुटवल र भैरहवामा रहेका उक्त सहकारीका बचतकर्ताले संस्थाको दुई करोड रुपैयाँ अपचलन गरेको आरोप लागेका गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि दबाब दिएका हुन् । सुप्रिम सहकारीपीडित संघर्ष समितिले आयोजना गरेको प्रदर्शनमा सहभागी पीडितले सहकारीको रकम हिनामिनामा संलग्न संस्थाका पूर्व अध्यक्ष जीबी राईलाई पक्राउ गरेर कारबाही गर्न माग गरेका हुन् ।

बुटवलको राजमार्ग चौराहामा भेला भएका पीडितले विभिन्न माग उल्लेख गरिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । राजमार्ग चौराहाबाट नाराबाजी गर्दै पीडित बुटवलको ट्राफिक चोकसम्म पुगेका थिए । प्रदर्शनमा सहभागीले गृहमन्त्रीले मुख्य आरोपी जीबी राईलाई पक्राउ गर्न नसक्नुको कारण माग गरेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा पेस गरेको अभियोग पत्रमा प्रमाण समेटेर लामिछानेले सहकारीबाट दुइ करोड रुपैयाँ अपचलन गरेको उल्लेख गरिएको छ । संघर्ष समितिका संयोजक विजयकुमार नेपालले सडक प्रदर्शनबाट माग पूरा नभए काठमाडौं पुगेर संघीय सदन घेराउ गर्ने चेतावनी समेत दिनु भएको छ । पीडितले संघर्षलाई निरन्तरता दिने भन्दै आन्दोलनमा उत्रिदा ज्यान गए पनि नडराउने चेतावनी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्