हलेसीमा पन्ध्र दिने रामनवमी मेला



खोटाङ  ।

रामनवमीको अवसरमा खोटाङस्थित हलेसीमा पन्ध्र दिने मेला शुरु भएको छ । किरात,हिन्दु र बौद्ध धर्मावालम्बीको सङ्गमस्थल हलेसीमा नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्रहरुबाट भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरिया लगायत विभिन्न राष्ट्रबाट दर्शनार्थी तथा भक्तजनहरु आउने गरेका छन् ।

रामनवमीको अघिल्लो रात जाग्राम बस्ने चलन छ । रामनवमीको दिन पञ्चेबाजासहित गहना लगेर महादेव पहिराउने गरिन्छ । रामनवमीकै दिन सबैभन्दा बढी दर्शनार्थी तथा भक्तजन आउने भएकाले सहज रुपमा पूजाआजा गर्ने वातावरण मिलाउन स्वयम्म सेवक र प्रहरी परिचालन समेत गर्ने गरिएको मन्दिर ब्यवस्थाप समितिका अध्यक्ष गजुरमान राईको भनाई छ ।

काठमाडौँ लगायत तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गको सडकखण्ड कालोपत्रे गरिएका कारण पनि हलेसी आउने अधिकांश दर्शनार्थी तथा भक्तजन आफैले सवारीसाधन लिएर हलेसी आउने गरेका छन् ।

त्रीधार्मिक रुपमा मात्र नभइ प्राकृतिक रुपले समेत विश्वप्रसिद्ध हलेसीको दर्शन तथा पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । चट्टानै चट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्वार, पापद्वार, स्वर्गद्वार आदि अवस्थित छन् ।

प्राकृतिक भू–बनोटको हिसाबले पनि विश्वकै नमूना मानिने हलेसीस्थित बसाहा गुफा महादेव गुफाको ठीक पछाडिपट्टी पर्दछ । घना जङ्गलको बीचमा अवस्थित बसाहा गुफाको करिब ५० मिटरभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुपम उपहार मानिन्छ ।

हलेसीमा रामनवमी, शिवरात्री, बालाचर्तुदशी, हरितालिका तिज, बोलबम लगायतमा ठूलो मेला लाग्ने गरेको छ । मेलामा करोडौँको कारोबार हुने गरेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभएको छ ।

यससँगै, रामनवमीको अवसरमा जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरी, ट्याम्के, दिक्तेलको मझुवागढी, रुपाकोट, मैयुङ लगायत ठाउँहरुमा समेत ठूलो मेला लाग्ने गरेको छ ।

पछिल्लो समय रामनवमीको अवसर पारेर जिल्लाका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बगरेभञ्ज्याङस्थित पेन टावर, लेखगाउँको काङ्साहोप ताल, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङ, साकेला गाउँपालिकाको तावाभञ्ज्याङ लगायतका धार्मिक तथा पर्यटकीयस्थलहरुमा आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्