सुदूरपश्चिममा अन्योल, एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिन गृहकार्य !



धनगढी ।

 सुदूरपश्चिममा नयाँ सरकार निर्माण बारे अन्योलता बढेको छ । आइतबार प्रदेश प्रमुख नाजिर मियाँले दिएको समयभित्र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरे पनि अहिलेसम्म प्रदेश प्रमुखले निर्णय लिएका छैनन् ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालको मंगलबार बिहान बालुवाटारमा भएको छलफल पछि नयाँ विकल्पमा जाने सम्भावना पनि बढेको छ ।

सोही अनुसार सुदूरपश्चिमका एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नाउपाका केही सांसदहरुले छलफल गरेको बुझिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिएर अगाडी बढ्ने विकल्पको बारेमा छलफल गरेका छन् ।

नाउपाका दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेको अवस्थामा एकीकृत समाजवादीलाई कसरी मुख्यमन्त्री दिन सकिन्छ भन्ने कानुनी पाटो बारे अहिले छलफल भइरहेको बुझिएको छ । प्रधानमन्त्री प्रचण्डसँगको भेटमा पनि नेता खनालले सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिएमा सबै समस्याको हल हुने बताएका थिए ।

स्रोतका अनुसार प्रदेश प्रमुखले दुवै दाबीलाई रद्द गरेर नयाँ आव्हान गर्न सक्ने बताइएको छ । तर यसका लागि प्रदेश प्रमुखले दिने कानुनी आधारले प्रदेशको राजनीति अदालती झमेलामा जान सक्नेसमेत विश्लेषण सुरु भएको छ ।

आइतबार गरिएको दाबीमा लक्ष्मणकिशोरले काङ्ग्रेससहित २८ सांसदको समर्थन पेस गरेका छन् भने कैलाश चौधरीले २३ सांसदको समर्थन सूची पेस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्