स्वास्थ्य संस्थामा बच्चा जन्माउने ३० प्रतिशतले बढे 

स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउनअझै सासू र श्रीमानको निर्णय कुर्नुपर्छ !

9.49k
Shares

दोलखा। 

धुलिखेल अस्पतालले सञ्चालनमा ल्याएको  सामुदायिक स्वास्थ्य सेवा कार्यक्रम देशकै नमुना स्वास्थ्य कार्यक्रमका रुपमा दोलखामा परिचित भएको छ ।

कार्यक्रमकी संयोजक लक्ष्मी भट्टराई भन्छिन् धुलिखेल अस्पतालले दोलखाको ९ वटा स्थानीय निकाय मध्ये ४ वटा स्थानीय निकायमा समुदायमानै केन्द्रित घरदैलो स्वास्थ्य सेवा अर्थात् सामुदायिक स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरेको छ । जसमा ४४ जना  स्थानीय सामुदायिक स्वास्थ्य कार्यकर्ता स्मार्ट फोनमा हरेक घरका बिरामीको तथ्यांक सङ्कलनमा बिहान ९ बजे देखि ४ बजे सम्म खटिन्छन् । उनीहरुले सङ्कलन गरेका समस्यालाई पहिचान गरी बिरामीलाई स्वास्थ्य संस्था पुर्‍याउने, सरकारी निकायद्वारा  खटिएका महिला स्वास्थ्य स्वयमसेवीकाहरुसँग सहकार्य गर्ने जस्ता महत्वपूर्ण काममा मदत पुर्याईरहेका छन् ।

यो कार्यक्रमको लक्ष्य हरेक घरका नागरिकको स्वास्थ्य अवस्थाका बारेमा तथ्यगत रिपोर्ट तयार गरी सहज स्वास्थ्य सेवा प्रवाह गर्नु नै हो । हाल दोलखाको ४ वटा पालिकाका ३३ हजार ६ सय घरधुरीका १ लाख भन्दा बढी नागरिकको स्वास्थ्य अवस्थाको बारेमा रेकर्ड उतार्ने लक्ष्य लिएर स्वास्थ्य कार्यकर्ता खटिएका छन् ।

यो अभियानसँगै गरिएको अध्ययनले ९८ प्रतिशत महिलालाई स्वास्थ्य संस्थामा गै बच्चा जन्माउन प्रेरित गर्न सफल भएको लक्ष्मी बताउँछिन् । अझै २ प्रतिशतलाई पहुँचमा ल्याउन सकिएको छैन । यी २ प्रतिशतलाई पहुँचमा ल्याउन नसक्नुको प्रमुख कारणहरुमा कतिको सवारी साधन घरसम्म पुग्न नसक्नु, घरमै बेथा लागेर स्वास्थ्य संस्थामा ल्याउँदा ल्याउँदै बाटोमै बच्चा जन्मिनु, छिटोछिटो बेथा लागि घरमै बच्चा जन्मिनु, जनचेतनाको कमी हुनु, घरमा अस्पताल पुर्‍याउने वा सवारी साधन बोलाउने मान्छे नहुनु, निर्णय गर्ने अधिकार स्वयम महिलामा नभै सासू या श्रीमान् हुनु र आफैले सम्पर्क गर्न नसक्नु जस्ता जटिल समस्या पहिचान भएको उनले जानकारी गराइन् ।

दोलखामा ७५ प्रतिशत बालबालिकाले पूर्णरुपमा स्तनपान गरेको सामुदायिक स्वास्थ्य कार्यक्रममा समेटिएका आमा तथा बालबालिकाबाट पत्ता लागेको पनि लक्ष्मी बताउँछिन्  । उनी भन्छिन् , ग्रामीण भेगमा आमाहरु बच्चालाई घरमा छोडि काममा जानुपर्ने । छोरीलाई ५ महिनाको हुँदै अन्नप्राशन गराउने हुनाले त्यसपछि छोडेर काममा जाने गरेको पाइयो । यसरी छोडेका २५ जना बालिका मध्ये २० जना पोषणको उच्च जोखिममा रहेको पाइयो । सामुदायिक स्वास्थ्य सेवामा समेटिएका २ हजार १ सय ५७ जनालाई नियाल्दा देखा परेका समस्याहरुमा कालिन्चोकमा हेपाटाइटिस आउटब्रेक भएको छ । त्यसैगरि पोषणको कमी, क्यान्सर, डेंगी, आँखा स्वास्थ्यको पनि समस्या बढ्दै गएको छ ।

यो सेवाका लागि ४ जना नर्स र ४४ जना स्वास्थ्य कार्यकर्ता खटेका छन् । जसको मोनिटरिङ हरेक पालिकामा खटिएका  नर्सले गर्छन् । यो कार्यक्रमले गाउँ गाउँको अवस्था नजिकबाट नियालेर जनचेतना जगाउँन मदत गरेको छ । दुई जना छोरी लगातार जन्मिए भने तेस्रो गर्भ आमाले १२ हप्ता सम्म लुकाउछिन र परिवारलाई थाहै नदिई लिंग पहिचान गरी छोरा भए राख्ने र छोरी भए शहर बजारमा गै गर्भपतन गराउँने गरेको पाइयो । यतिमात्र नभै राती बच्चा घरमै जन्मियो साल,नाल निगालाको चोयाले काटेको पाइयो  । ७ वर्ष देखि धुलिखेल अस्पतालले सामुदायिक स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्दै आएकोछ । यो कार्यक्रम लागु भए देखि हाल सम्म ३० प्रतिशतले स्वास्थ्य संस्थामा नै आई बच्चा जन्माउनेको सङ्ख्यामा वृद्धि भएको अनुसन्धानले देखाएको छ । पहिला आफ्नो समस्या नभन्ने र नसुन्ने थियो । हाम्रो प्रयास निरन्तर जारी भएकै कारण अहिले स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्यामा वृद्धि हुनुका साथै जनचेतना वृद्धि भएको छ देखिन्छ लक्ष्मी भन्छिन् ।

Skip This