सहकारी ठगीमा रवि लामिछानेलाई उन्मुक्ति



काठमाडौं ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा ऋण स्वीकृत भएको प्रहरीको अनुसन्धानमा देखिएको छ। प्रहरीले गरेको अनुसन्धानबाट लामिछानेको नाममा २ करोड रुपैयाँ ऋण स्वीकृत भएको रुपन्देही जिल्ला अदालतमा पेस गरेको अभियोग पत्रमा उल्लेख छ।

अभियोग पत्रमा उक्त रकम रवि लामिछानेको नाम ऋण खडा गरी २०७७ चैत एकमा गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आई.एम.ई बैंक लि. को खातामा सेवा शुल्क बापत ४ लाख कट्टी गरी संस्थाले एक करोड ९६ लाख जम्मा गरेको देखिएको उल्लेख छ।

सहकारीमा भएको घोटालामा संलग्न ओखलढुङ्गा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले अदालतमा अभियोग पत्र दायर गरेको छ। तर अभियोग पत्रमा २ करोड लिएका लामिछानेको नाम भने राखिएको छैन। प्रहरीले अनुसन्धानमा लामिछानेको नाममा प्रक्रिया नपुर्‍याएर ऋण लिएको उल्लेख गरेको छ।

प्रमाण हुँदाहुँदै पनि उनलाई सत्ताको आडमा उन्मुक्ति दिइएको छ। सुप्रिमको रकम हिनामिना प्रकरणमा अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्वउपराष्ट्रपतिका छोरा एवं पूर्वकोषाध्यक्ष दिपेश पुन, दुर्गा चापागाईँ पाण्डे, दीपक न्यौपाने र निता थापा मगर पक्राउ परेका छन् तर गृहमन्त्री भएकै कारण लामिछानेलाई उन्मुक्ति दिइएकाे छ। ५ जना बाहेक अरूलाई फरार प्रतिवादी कायम गरिएको छ।

गोर्खा मिडिया नेटवर्कको नाममा करोडौँ रकम निकासा भएको अनुसन्धानबाट देखिएको छ। सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्