इनएक्टिभेटेड पोलियो भ्याक्सिन अभियान शुरू हुँदै

१४ लाख ५ सयभन्दा बढी बालबालिकालाई समेट्ने लक्ष्य



काठमाडौं । 

आठ वर्षअघि उत्पादन नभएर विश्वव्यापी रूपमा बन्द गरिएको सुइमार्फत् दिइने पोलियोको खोप नेपालमा पुनः शुरू गर्न लागिएको छ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले विश्व स्वास्थ्य संगठनको आह्वानअनुसार आगामी जेठ असारभित्र यसअघि खोप लगाउन छुटेका १४ लाख ५ सयभन्दा बढी बालबालिकाहरूलाई इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आईपीभी) दिने अभियान सञ्चालन गर्ने भएको छ।

यो अभियानमा वि.सं. २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार बालबालिकाहरूलाई खोप दिइने परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखा प्रमुख डा अभियान गौतमले बताउनुभयो।

उहाँका अनुसार यो खोप अभियान विद्यालय केन्द्रित हुने छ। जसमा साढे ४ वर्षदेखि ७ वर्ष उमेर समूहका बालबालिकाहरू समेटिनेछन् । विद्यालयमा छुटेका बालबालिकाहरूलाई स्थानीय स्वास्थ्य संस्थाबाट खोप लगाउने कार्यक्रम रहेको डा. गौतमले बताउनुभयो । यो खोप केही सातामै आउने भएकाले प्रदेशस्तरीय अभियानको तयारीका लागि विभिन्न चरणमा बैठकहरू भइरहेको पनि उहाँले बताउनुभयो।

नेपालले सन् २०१४ मै पोलियोविरुद्धको खोप (आईपीभी) शुरू गरे पनि सन् २०१६ देखि सन् २०१८ को मध्यसम्म विश्वव्यापी रूपमै खोपको अभाव सिर्जना भएका कारण नेपालमा पनि खोप रोकिएको थियो।

यो खोप आउनुअघि पोलियोको मुखबाट दिइने ओरल खोप मात्रै थियो । तीन प्रकारको पोेलियो खोपमध्ये मुखबाट दिइने ओरल पोलियो भ्याक्सिन (टाइप वान र टाइप थ्री) हालसम्म पनि नियमित रूपमा सञ्चालन भइरहेको छ । खोपको माध्यमबाट दिइने टाइप टु खोप भने बन्द थियो ।

प्रतिक्रिया दिनुहोस्