इजरायल–इरान युद्धको असर : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्ने अनुमान



काठमाडौं ।

अप्रिल १ मा इजरायलले सिरियास्थित इरानी दूतावासमा आक्रमण गरेपछि शुरू भएको दुई देशबीचको सम्बन्धमा थप दरार पैदा भएको छ। इजरायलले इरानको दूतावासमा आक्रमण गरेको १२ दिनपछि इरानले इजरायलमाथि ३ सयभन्दा बढी मिसाइल र ड्रोनबाट आक्रमण गर्‍यो।

मध्यपूर्वमा तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ। इजरायल–इरान युद्धले तेलको मूल्यमा प्रभाव पार्ने विश्लेषण शुरू भएको छ।

इरानले इजरायलमाथि प्रत्यक्ष हमला गर्नुभन्दा एक दिनअघि ओमानकोे होर्मुज पासबाट जहाज कब्जा गरेको थियो । विश्वको २० प्रतिशत तेल यही होर्मुज पासबाट आपूर्ति हुन्छ। इरानका सयौं ब्यालेस्टिक र क्रुज मिसाइलहरू यहाँ तैनाथ छन्। यदि, दुई देशबीचको विवाद चर्कियो भने इजरायलले यस क्षेत्रबाट जहाजको आवतजावतमा रोक लगाउने छ।

इरानले स्वेज नहर बन्द गर्ने धम्की दिएको छ । द इकोनोमिक टाइम्सको रिपोर्टअनुसार हरेक दिन ५ दशमलव ५ मिलियन ब्यारेलभन्दा बढी कच्चा तेल स्वेज नहरबाट आपूर्ति गर्ने गरिएको छ ।

स्वेज नहर र हर्मुज पासमा कुनै पनि अवरोध भएमा तेल आपूर्ति रोकिने छ। यी सबै अनुमानका बीच तेल बजारमा यसको प्रभाव देखिन थालेको छ। इरान र इजरायलबीच तनाव शुरू भएयता कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० डलरबाट बढेर प्रति ब्यारेल ९० डलर पुगेको छ।

अमेरिकी थिंक ट्यांक ‘सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज’का अनुसार तनाव कम नभए तेलको मूल्य प्रति ब्यारेल १ सय डलरसम्म पुग्न सक्छ । साउदी अरेबिया, कुवेत, ओमान र यूएईजस्ता ठूला तेल उत्पादक देशहरूले युद्धको कारण देखाएर तेल उत्पादनमा कमी ल्याउन थालेका छन्।

यो तनाव ठूलो युद्धमा परिणत नहुने दाबीसमेत गरिएको छ। अहिले भइरहेको इजरायल–इरानबीच मनोवैज्ञानिक युद्ध भएको विश्लेषकहरूले दाबी गरेका छन्। यस्तो अवस्थामा इजरायलले जवाफी कारबाही शुरू गर्‍यो भने साँच्चै विश्व दुई ध्रुवमा बाँडिने निश्चित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

कच्चा तेलको भाउ बढेमा खुद्रा पेट्रोल र डिजेलको मूल्यमा असर पर्ने विज्ञहरू बताउँछन्। खास गरी भारतमा आउने ६५ प्रतिशत कच्चा तेल स्वेज नहर र होर्मुज पासबाट आउने हुनाले यस क्षेत्रमा बढ्ने तनावले भारतमा तेलको मूल्य बढ्ने र त्यसको असर नेपालमा समेत पर्ने देखिन्छ।

मार्चको अन्त्यसम्ममा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो ४ महिनाको उच्च बिन्दुमा पुगेको छ । जुन तनावका कारण थप बढ्न सक्छ।

प्रतिक्रिया दिनुहोस्