कमान्ड तथा स्टाफ तालिम शुभारम्भ



काठमाडौँ। 

 शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा आज (सोमबार)देखि   सि।सं।३१ कमान्ड तथा स्टाफ तालिमको सुरु भएको  छ ।
तालिमको शुभारम्भ गर्दै सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकालले प्रविधिको विकाससँगै विविध क्षेत्रहरूमा भइरहेको तीव्र एवं व्यापक परिवर्तनले सुरक्षा चुनौतीमा वृद्धि हुनुले त्यस्ता चुनौतीहरूको सामना गर्न तयार रहनुपर्ने बताए ।

 उनले तालिममा सहभागी स्वदेशी तथा विदेशी शिक्षार्थीहरूलाई एक अर्कामा मित्रवत भई अनुभव आदान प्रदान गर्दै भविष्यमा आइपर्न सक्ने जस्तोसुकै चुनौती सामना गर्न सक्ने ढङ्गले आफूलाई तयार पार्ने गरी तालिमलाई सदुपयोग गर्न सुझाव दिए ।

  कार्यक्रममा स्वागत मन्तव्य राख्दै  शिक्षाधिकृत उपरथी  बाबुराम श्रेष्ठले सैनिक कमान्ड तथा स्टाफ तालिमको महत्वका बारे प्रकाश पारे । सेनाले निर्वाह गर्नुपर्ने बहु आयामिक जिम्मेवारीका लागि योजना तथा कार्यान्वयन गर्न सक्षम स्टाफ अधिकृतहरू तयार गर्ने ढङ्गले तालिममा विविध विषयवस्तुहरू समेटिएको उपरथी  श्रेष्ठले बताए ।

   मध्यम तहका अधिकृतहरूको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्त्वपूर्ण यस तालिममा नेपाली सेनाका महिला २ जना सहित ५४ अधिकृतहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका १र१ गरी ३ जना अधिकृतहरू तथा मित्रराष्ट्र बंगलादेश, चीन, भारत, केन्या, माल्दिभ्स, म्यानमार, नाइजेरिया, पाकिस्तान, संयुक्त अधिराज्य बेलायत र संयुक्त राज्य अमेरिकाका १र१ जना गरी १० विदेशी सहित जम्मा ६७ जना अधिकृतहरू सहभागी छन् ।

२०४९ पौष १४ गते स्थापना भएको सो कलेजले  २०५० भाद्र २० गते १२ जना शिक्षार्थी अधिकृतहरू समावेश गरी पहिलो पटक कमान्ड तथा स्टाफ तालिम थालनी गरेको थियो । सन् २०१० बाट विदेशी शिक्षार्थीहरू सहभागी हुन सुरु भएको यस तालिमबाट हालसम्म नेपाली सेनाका ११७३, नेपाल प्रहरीका १५, सशस्त्र प्रहरी बल, नेपालका २७, राष्ट्रिय अनुसन्धान विभागका १८, रक्षा मन्त्रालयका १ र विभिन्न राष्ट्रहरूका ११४ गरी जम्मा १३४८ जना शिक्षार्थी अधिकृतहरू प्रशिक्षित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्