नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग ‘ब्रेक थ्रू’,सवारी साधन गुडाउन अझै एक वर्ष लाग्ने



काठमाडौं ।

नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको मुख्य सुरुङ छेड्ने (ब्रेक थ्रू) काम पूरा भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गरिएको हो । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ २ हजार ६ सय ६८ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ ।

आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै एक वर्ष लाग्ने जनाइएको छ । आयोजना निर्माणको सुरुआती आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ ।

त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन) लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्