पेशी चढेको आलमको मुद्दा स्थगित



फाइल फोटो

रौतहट ।

पूर्वमन्त्री  मोहम्मद अफताब आलमको सोमबार तोकिएको पेशी स्थगित भएको छ । न्यायाधीश केदारनाथ पौडेलको इजलासमा सुनवाइ हुनु पर्ने मुद्दा  प्रतिवादीका कानुन व्यवसायीले स्थगित गरेका हुन ।

 पुर्पक्षको लागि चार वर्ष देखि कारागार रहेका पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दाको  अन्तिम किनारा लाग्न सकेको छैन । न्यायाधीश बाबुकाजी बानियाँको  इजलासले छ महिना अघि लिखित बहस नोट मागिसकेको थियो । त्यस यता दुई पटक पेशी तोकिए पनि फैसला हुन सकेको छैन ।

 पूर्वमन्त्री अफताब आलम सहित ११ जना प्रतिवादी रहेको मुद्दाको  सुनवाइ भएको छ । लापरबाहीपूर्वक काम गरी ज्यान मारेको, बिस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उधोग तथा कर्तब्य ज्यान सम्बन्धि कसुर मुद्दामा  ११ जना लाई प्रतिबादी बनाइएको थियो । ०७६ कार्तिक १८ गते जिल्ला अदालत गौरमा आलम सहित ११ जना विरुद्ध मुद्दा  दायर भएको थियो ।

 संविधान सभाको निर्वाचनको अघिल्लो दिन २०६४ साल चैत २७ गते आलमका काका शेष इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई ज्युँदै इँटा भट्टामा जलाएर मारेको आरोपमा घटना भएको १२ वर्षपछि प्रहरीले आलम लाई ०७६ असोज २६ गते पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालयले कात्तिक १८ गते नेता आलमसहित  ११ जनाविरुद्ध जिल्ला अदालत गौरमा अभियोगपत्र दायर गरेपछि भएको बहस र सुनवाइ बाट जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले आलमलार्ई मुद्दा टुङ्गो नलागेसम्मका लागि कात्तिक २९ गते जेल पठाउने निर्णय गरेको हो । आलमविरुद्ध ३२ वर्ष कैद सजाय माग दाबीसहित तीन ओटा मुद्दा चलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्