पर्यटन क्षेत्रलाई चलायमान बनाउन ठमेल चौबिसै घण्टा खुला



काठमाडौं ।

विदेशी पर्यटकका लागि प्रथम राजाइमा पर्ने दरमार्ग र ठमेल क्षेत्र शनिबारबाट २४ सै घण्टा खुला भएको छ। लामो समयदेखि सो क्षेत्रलाई २४ सै घण्टा खुला गर्ने अभियान थालनी भएको भए पनि त्यसले शनिबारबाट मूर्त रूप लिएको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शनिबार बेलुकी उक्त अभियानको ठमेलस्थित कर्मचारी सञ्चयकोष भवन नजिकैबाट सुरुवात गर्नुभएको हो। विश्वभर नै पर्यटकीय क्षेत्रलाई २४ सै घण्टा खुला गर्ने गरिएको भए पनि नेपालमा भने यो अभियान शुरू हुन सकेको थिएन।

लामो समयको अध्ययनपछि यो अभियान शुरू गरिएको गृहमन्त्री लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले नगरे कसले गर्ने त्यही भएर अहिले यो अभियानको सुरुवात गरिएको हो।’

तामझामका साथ शुरू गरिएको उक्त अभियानलाई कसरी दीर्घकालीन बनाउन सकिन्छ भन्ने विषयमा सरोकारवाला निकायसँग छलफलमा स्थानीय प्रशासन लागेको काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘संसारभरि नै पर्यटकका लागि मनोरञ्जन प्रदान गर्न पर्यटकीय क्षेत्रलाई २४ सै घण्टा खुला गर्ने गरिएको र नेपालमा पनि यो अभियानलाई निरन्तरता दिइएको हो ।’

दरबारमार्गको महेन्द्र सालिकदेखि राजदरबार गेट वरिपरि रहेका विभिन्न व्यवसाय र ठमेलमा पनि तोकिएका एरिया मात्रै २४ सै घण्टा खुला रहने एसएसपी खत्रीले जानकारी दिनुभयो। उहाँले यसका लागि चाहिने जनशक्ति पर्याप्त मात्रामा खटिने र त्यो व्यवस्या परिसरले मिलाइसकेको पनि उहाँले जानकारी दिनुभयो।

शनिबारबाट सो क्षेत्रमा खटिने सुरक्षाकर्मीको संख्या दोब्बर बनाइएको र सो क्षेत्रमा खटिने हरेक नेपाली नागरिकले सुरक्षाकर्मीको भूमिका निर्वाह गर्नुपर्ने एसएसपी खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो सुरक्षा निकायको मात्रै जिम्मेवारी होइन हरेक नेपालीको दायित्व हो त्यसैले हामीले यो अभियानलाई दीर्घकालीन बनाउन सबै उपायहरू अवलम्बन गरेका छौं ।’

नेपालको विदेशी मुद्राको प्रमुख स्रोतको रूपमा रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पनि यो अभियान सञ्चालन गरिएको र दरबारमार्ग तथा ठमेलको निश्चित क्षेत्रमा रातहर नै हिँड्ने स्वदेशी तथा विदेशी पयर्कटलाई यी क्षेत्र सुरक्षित छन् भनेर देखाउने चुनौती पनि रहेको र त्यो प्रमाणित नै गरेर देखाउने पनि उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्