मन्त्री श्रेष्ठद्वारा खानेपानी योजनाहरुको निरीक्षण



हेटौंडा ।

वागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री एकालाल श्रेष्ठले भक्तपुर जिल्लामा सञ्चालन भएका खानेपानी योजनाहरुको अवलोकन तथा निरीक्षण गरेका छन् ।

शनिबार मन्त्री श्रेष्ठले खानेपानी मन्त्रालयअन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन–५ कार्यालयबाट सञ्चालित भक्तपुरको चांगुनारायण नगरपालिका–२ स्थित प्रगति टोल खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, वडा–८ को बोजिनी सिचाईं आयोजना र सूर्यविनायक नगरपालिका–८ मा रहेको डोलेश्वर मन्दिर पानीट्यांकी योजनाको निरीक्षण गरेका हुन्।

योजना निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले योजनाहरु समयभित्र सम्पन्न गराउन र छिटो सञ्चालनमा ल्याउन उपभोक्ता समिति, निर्माण व्यवसायी र सम्बन्धित कार्यालयलाई निर्देशन दिए । खानेपानी जस्तो संवेदनशील कुरामा ढिलासुस्ती नगरी जनताले सहज खानेपानी उपभोग गर्न पाउनेतर्फ गम्भीर भएर काम गर्न उनको निर्देशन छ ।

योजना निरीक्षणमा खानेपानी तथा सरसफाइ डिभिजन–५ का डिभिजनल प्रमुख लोक चौलागाईं, खानेपानी तथा सरसफाइ डिभिजनल प्रमुख अनिल केशरी, उपभोक्ता समितिका पदाधिकारी, इञ्जिनियर र कर्मचारीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्