चार सचिवको सरुवा, अन्यको पनि व्यवस्थापन हुँदै 

सामान्य प्रशासनमा निरौला 



मुकुन्द निरौला

 काठमाडौँ। 

सरकारले विभिन्न मन्त्रालय र निकायका चार जना सचिवको सरुवा गरेको छ भने अन्य केही निकायमा सचिवको व्यवस्थापन गर्ने क्रम जारी रहेको जनाएको छ ।
शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्द निरौलालाई लगिएको छ ।

निरौला निजामती क्षेत्रमा समन्वय गर्न र कर्मचारी व्यवस्थापन गर्न विशेष कौशल राख्ने सचिवको रुपमा चिनिन्छन् ।केन्द्रीय कर्मचारी निकाय(सिपिए) को रुपमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निरौलाले प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने विश्वास गरिएको छ । यस अघि निरौलाले उद्योग सचिवको भूमिका समेत निर्वाह गरिसकेका छन् ।

 यसैगरि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिहको भने राष्ट्रिय  प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई महिला बालबालिका तथा  ज्येष्ठ नागरिक मन्त्रालयका सरुवा गरिएको छ भने सोही मन्त्रालयका सचिव सुमनराज अर्याललाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद् स्रोतका अनुसार रिक्त रहेका वाग्मती प्रदेश, उपराष्ट्रपति कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय लगायतका निकायमा पनि सचिव पठाउने गरी आन्तरिक गृहकार्य जारी राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्