‘के सोचेँ मैले, के भयो अहिले’



काठमाडौँ। 

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश  खिलराज रेग्मीले नयाँ संविधान निर्माण पश्चात् दुई–दुईपटक निर्वाचन भइसक्दा पनि स्थायित्व र समृद्धिको यात्रा धरमराउँदो भएप्रति चिन्ता व्यक्त गरेका छन् ।

नयाँ वर्ष २०८१ को पुर्वसन्धानमा एक शुभकामना सन्देश जारी गर्दै मन्त्रिपरिषद्का पूर्व अध्यक्ष रेग्मीले राज्यप्रणालीको स्थायित्व कायम गर्दै जनभावना अनुरूप शासन सञ्चालन गर्न मार्गनिर्देशन गर्ने र देशको समग्र आर्थिक सामाजिक विकासलाई नयाँ उचाइमा पुर्‍याउन सक्ने संविधान निर्माण भएको लामो समय सम्म पनि देशमा अस्थिरता बढिरहेको प्रति चिन्दा व्यक्त गरेका हुन् ।

‘केन्द्रमा सत्ता समीकरण फेरिईरहँदा प्रदेश सरकारहरू तासका घरझैँ ढलिरहेका छन्’ अध्यक्ष रेग्मी भन्छन्– यस अवस्थामा स्थायित्व र समृद्धि कसरी ? “के सोचेँ मैले के हुँदैछ अहिले“ भन्ने जस्तो भएको छ । समय र श्रम राजनीति व्यवस्थापनमै बढी खर्च गर्नुपर्दा अन्य गतिविधि सुस्त र कामचलाउ प्रकृतिका भएको भन्दै उनले यस अवस्थामा परिवर्तनकारी शक्तिहरु समेत सबैले गम्भीर बहस र विमर्श गर्दै आगामी लक्षित मार्ग तय गर्न जरुरी भइसकेको बताएका छन् ।

 अब पनि नभए कहिले हुने ? भन्ने प्रश्न गम्भीर बनेर सबैका सामु खडा भएको बताउँदै मन्त्रीपरिषद्का पूर्व अध्यक्ष रेग्मीले नव वर्षले नेपालीका बीच शान्ति, सद्भाव र एकता कायम गर्दै स्थिरता र समृद्धिको यात्रामा लाग्न सबैलाई प्रेरणा प्राप्त होस भन्ने कामना पनि गरेका छन् । पहिलो संविधानसभा बाट संविधान जारी गर्न नसकेका राजनीतिक दलहरुले दलीय नेतृत्वमा दोस्रो संविधान सभा निर्वाचनको लागि सरकार समेत गठन गर्न नसकेपछि तत्कालीन प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा सरकार गठन गरी निर्वाचनमा होमिएका थिए । रेग्मी नेतृत्वको सरकारले निर्धारित समयमै दोस्रो संविधान सभाको निर्वाचन सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्