प्रिमियर लिगमा मात्रै प्रतिस्पर्धा



काठमाडौं ।

युरोपमा मुख्यतया पाँच लिगलाई महत्वपूर्ण रूपमा लिइने गर्छ। जसमा इंग्लिस प्रिमियर लिग, इटालियन सिरी ए, स्पेनीस ला लिगा, जर्मन बुन्डेसलिगा र फ्रेन्च वान लिग रहेका छन्।

यस सिजनमा कुन टोली लिग विजेता हुनेमा इंग्लिस प्रिमियर लिगमा निकै कडा होडबाजी चलेको छ । प्रिमियर लिगमा उपाधिको छिनोफानो हुन निकै प्रतिस्पर्धामा हुँदा अन्य चार लिगमा भने उपाधि होडमा कुनै प्रतिस्पर्धा देखिएको छैन ।

प्रिमियर लिगमा तीन टोली लिभरपुल, आर्सेनल र म्यानचेस्टर सिटीबीच कडा प्रतिस्पर्धा भइरहेको छ । तीनै टोलीले २९ चरणका खेल खेल्दा अंक दुरीमा फरक छैन। शीर्ष स्थानको लिभरपुलको ६७ अंक छ भने आर्सेनलसँग ६५ अंक छ।

लिभरपुल र आर्सेनलबीच २ अंकको दुरी रहेको छ। तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँग ६४ अंक छ। अझै ९ चरणको खेल बाँकी रहेको अवस्थामा उपाधि कसले जित्छ भन्ने टुंगो लागेको छैन ।

ला लिगामा रियल मेड्रिड ३० खेलमा ७५ अंकसहित शीर्ष स्थानमा छ। ३० खेल नै खेलेको बार्सिलोनाको ६७ अंक छ। ८ खेल खेल्न बाँकी भएको स्थितिमा रियल मेड्रिड ८ अंकको अग्रतामा छ। यो फराकिलो दुरीमा रियल मेड्रिडले उपाधि जित्ने संकेत स्पष्ट देखाएको छ । तेस्रो स्थानमा रहेको जिरोनाको ६५ अंक रहेको छ।

यस्तै फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) नै शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको ब्रेस्टमाथि १२ अंकको अग्रता बनाएको हुँदा पीएसजी उपाधितिर लगभग निकै नजिक पनि छ। लिगमा ७ खेल बाँकी रहेको छ। ब्रेस्टले बराबरी मात्रै गर्न पनि चार खेल लगातार जित्नु पर्छ। यही अवस्थामा पीएसजीले लगातार चार खेल हार्नुपर्ने कठिन समीकरण छ।

यसैगरी इटालियन सिरी ए मा पनि पहिलो र दोस्रो टोलीबीचको अन्तर फराकिलो नै छ। इन्टरमिलानको ७६ अंक छ भने एसी मिलानको ६५ अंक छ। यहाँ मिलानबिच ११ अंकको फरक छ। खेल अब मात्र ८ चरणको मात्रै बाँकी छ।

एसीमिलानले बराबरी गर्न पनि लगातार ४/५ खेल जित्नु पर्छ र त्यही अवस्थामा इन्टरमिलानले पनि लगातार हार्नुपर्छ । यो समीकरण असम्भव नै छ।

अर्को युरोपको लिग जर्मन बुन्डेसलिगामा अन्तिम ७ चरणको खेल बाँकी छ। बुन्डेसलिगामा लिभरक्युसेन ७३ अंकसहित उपाधितिर लम्किरहेको छ।

दोस्रो स्थानको बायर्न म्युनिख निकै पछि भएको हुँदा लिभरक्युसेनले उपाधि जित्ने लगभग तय छ। बायर्न म्युनिखसँग ६० अंक छ भने तेस्रो स्थानको भीबी स्टुटगार्टसँग ५७ अंक मात्रै छ।

प्रतिक्रिया दिनुहोस्