सुष्मा र अस्मिता सेमिफाइनलमा



काठमाडौं । 

लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको महिला ५० केजीमा सुष्माले मधेश प्रदेशकी मनीषा राई तथा अस्मिताले एपीएफकी सन्जुमाया थिङलाई पराजित गरे।

महिला ५४ केजीमा गण्डकी प्रदेशकी सोनिया बडुवाल र नेपाल आर्मीकी लालुमाया खत्री क्षेत्रीले अन्तिम चारको स्थान पक्का गरे। महिला ५७ केजीमा लुम्बिनीकी ललिता बस्नेत र कोशी प्रदेशकी नारिका राई अन्तिम चारमा पुग्न सफल भइन्।

यस्तै महिला ६० केजीमा बागमती प्रदेशकी नतिशा रानामगर, एपीएफकी संगिता सुनार अन्तिम चारमा पुगे। महिला ६६ केजीमा सुदूरपश्चिमकी सन्जिता चौधरी र एपीएफकी विनिता थापामगरले अन्तिम चारको स्थान सुरक्षित गरे। महिला ७५ केजीमै आर्मीकी तृषा जबेगु पनि अन्तिम चारमा पुगिन् ।

पुरुष ६३.५ केजीमा लुम्बिनीका अनिलकुमार पुनले अन्तिम चारमा स्थान बनाए । अन्य ३ खेलाडी अघिल्लो दिनमै क्वार्टरफाइनल खेल जितेका थिए।

जसमा पुरुष ७१ केजीमा सुदूरपश्चिमका भरत चन्द र आर्मीका दानबहादुर दर्लामीमगर, ८० केजीमा कर्णालीका मनोज तामाङ र बागमतीका पासाङ शेर्पा, ९२ केजीमा एपीएफका रविन नेपाल र आर्मीका महेन्द्र केसी तथा ९२ केजीमाथि आर्मीका पवन मोक्तान र गण्डकीका सुनिल श्रेष्ठ अन्तिम चारमा पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्