नेपाली महिला टोली एसिया कपमा



काठमाडौं ।

नेपाल महिला राष्ट्रिय क्रिकेट टोली आगामी एसीसी महिला एसिया कप २०२४ मा सहभागी हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार साँझ आफ्नो सामाजिक सञ्जालमा जनाएअनुसार एसीसीले आठ टोली समावेश गराएर प्रतियोगिता संचालन गर्ने भएपछि नेपालको स्थान पक्का भएको हो।

गत फेब्रुवरीमा भएको एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएपछि नेपालले श्रीलंकामा हुने एसिया कपमा स्थान बनाउन पाएको थिएन। उक्त प्रिमियर कपमा फाइनल खेलेका दुई टोली यूएई र मलेसिया सीधै एसिया कपमा प्रवेश गरेका हुन्।

यो नेपाली महिला टोलीको एसिया कपमा तेस्रो सहभागिता हुनेछ। नेपालले यसअघि २०१२ र २०१६ मा टी २० एसिया कप खेलेको थियो। यसपटकको एसिया कप पनि टी २० कै ढाँचामा हुनेछ।

प्रतिक्रिया दिनुहोस्