नेपालले चुनौती पाएन



काठमाडौं ।

नेपालमा खेल्न आएको टेस्ट खेल्ने राष्ट्र आयरल्यान्डको टोलीले नेपाललाई दरो चुनौती दिन सकेन। टेस्ट खेल्ने भएकोले सो टोलीसँग नेपालको खेल प्रतिस्पर्धात्मक हुने अनुमान लगाइएको थियो। तर, दुई खेलको शृंखलामा नेपाल पुरै हावी भयो र नतिजा नेपालले आरामका साथ शृंखला हात पारेको छ।

नेपालले मंगलबार भएको खेलमा आयरल्यान्डको ए टोलीलाई ७४ रनले हराएको हो। नेपालले पहिले ब्याटिङ गरेर निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९८ रन बनायो।

घरेलु टोलीका लागि गुलशन झाले ४ छक्काको सहयोगमा सर्वाधिक ४६ रन बनाए । यस्तै कुशल मल्लले ४ छक्काको सहयोगमा १३ बलमै ३४ रन बनाएका थिए । पहिलो खेलमा शून्यमा आउट भएका कप्तान रोहित पौडेलले ३३ रन बनाए।

जवाफमा नेपाली बलरको सामना गर्नै नसकेर आइरिश टोली १ सय २७ रनमै आत्मसमर्पण गर्न पुग्यो। टोलीका लागि स्टेफन डोहेनीले बनाएको २६ रननै उच्चतम योगदान साबित भएको थियो। नेपालको तर्फबाट कुशल मल्ल र सोमपाल कामीले ३–३ विकेट लिएका थिए। सोमपाल पहिलो खेलमा विकेटविहीन भएका थिए।

नेपालले यो शृंखला आगामी टी २० विश्वकपका लागि अभ्यासको रूपमा खेलिएको थियो। अब नेपालले यही चैतमा भारतमा गएर त्यहाँको स्थानीय क्लबहरूसँग अभ्यास खेल खेल्नेछ। यसपछि नेपालले सीधै टी २० विश्वकपमा सहभागिता हुन वेस्टइन्डिज र अमेरिकाको यात्रा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्