दीपक र सुष्मालाई सर्वोत्कृष्ट खेलाडी अवार्ड



काठमाडौं ।

एथ्लेटिक्सका दीपक अधिकारी र बक्सिङकी सुष्मा तामाङले १८ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७९ अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्ड सोमबार जितेका छन्।

दीपकले २०७९ को फागुनमा नेपालमा भएको १६ औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा दोहोरो स्वर्ण जितेका थिए। सुष्माले थाइल्यान्डमा सम्पन्न एएसबीसी यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपको ४८ केजी तौलसमूहमा रजत पदक जितेकी थिइन्।

नेपाली बक्सिङको इतिहासमा सुष्माले एसियाली च्याम्पियनसिपमा रजत पदक जितेको यो पहिलो पटक थियो । दुवैले समान १–१ लाख नगद पुरस्कार पाए।

शंखमूलस्थित यल दरबार बैंक्युटमा भएको अवार्डअन्तर्गत पुरुषमा क्रिकेटका रोहितकुमार पौडेल र महिलामा पौडीकी डुवाना लामाले प्रतिभाशाली खेलाडीको अवार्ड हात पारे। दुवैले जनही ५० हजार नगद पुरस्कार प्राप्त गरे । पारा एथलिट अवार्ड भारोत्तोलक दुर्गामान तामाङलाई प्रदान गरियो। उनी १५ हजार नगदसहित पुरस्कृत भए ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजना तथा ललितपुर महानगरपालिकाले सह–आयोजना गरेको अवार्डअन्तर्गत टेबलटेनिसका धर्ममान वज्राचार्यले गजराज जोशी स्मृति आदर्श खेल व्यक्तित्व अवार्ड प्राप्त गरे । उनलाई ३५ हजार नगद पुरस्कार प्रदान गरियो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा गण्डकी प्रदेशमा २०७९ साल असोज २८ देखि कात्तिक ३ गतेसम्म भएको नवौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३६ खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि पुरस्कृत गरिएको थियो।

प्रत्येक खेलबाट १–१ का दरले ३६ खेलाडी पुरस्कृत भए। पुरस्कृत सबैले जनही १० हजार नगद पुरस्कार पाए । यिनै ३६ उत्कृष्ट खेलाडी मध्येबाट सर्वोत्कृष्ट र प्रतिभाली पुरुष/महिला खेलाडी छनोट गरिएको हो।

अवार्डको १९ औं संस्करण (२०८१ म) तार्केश्वर र २० औं संस्करण (२०८२ मा) बनेपा नगरपालिकामा हुने भएको छ। तार्केश्वर नगरपालिका मेयर हरिकृष्ण महर्जन र बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्यले उक्त संस्करणका लागि सह–आयोजक बन्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्