डा. यादवसहित ६ जनाविरुद्ध मुद्दा दायर



काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा. सुनीलकुमार यादवसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

आयोगले सर्लाहीमा कृषि सेड निर्माणका लागि उपलब्ध सरकारी बजेटमा भ्रष्टाचार भएपछि त्यसमा संलग्न ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो। सर्लाहीको चक्रघट्टा गाउँपालिका–९ गोइयाहीमा सञ्चालित आम्रपाली सहकारी संस्थालाई भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मल∙वा सर्लाहीबाट आर्थिक वर्ष २०७५/०७६ मा सो बजेट उपलब्ध गराइएको थियो।

फिल्डमा भएको कार्यभन्दा बढीको मूल्यांकन गराई ९ लाख ७७ हजार १६ बराबरको भ्रष्टाचार भएको अभियोगमा निमित्त कार्यालय प्रमुख यादवलाई बिगो बमोजिमको कारवाहीको माग गरिएको छ। यस्तै, तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरीविरुद्ध पनि समान बिगो दाबी गरिएको छ।

चक्रघट्टा गाउँपालिका–९ का तत्कालीन वडाअध्यक्ष रामईश्वर ठाकुर, आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष मृगेन्द्रप्रसाद यादव, उपाध्यक्ष जयनारायण राय, व्यवस्थापक जयनन्दन राय यादवविरुद्ध नौ लाख ७७ हजार १६ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्