महाराजगन्ज नर्सिङ क्याम्पसका विद्यार्थी आन्दोलित



काठमाडौं ।

एउटा विषयमा भर्ना गरी अर्को विषयमा जाँच लिन थालेपछि महाराजगन्ज नर्सिङ क्याम्पसका विद्यार्थीहरू आन्दोलित भएका छन्। क्याम्पसमा अध्ययनरत करिब ४०० विद्यार्थीहरूले कक्षा र क्लिनिकल ड्युटी छाडेर आन्दोलनमा उत्रिएका हुन्।

स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा भएको आन्दोलनमा विद्यार्थीहरूले क्याम्पस प्रशासन, फ्याकल्टी तथा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को डीन कार्यालयमा तालाबन्दी गरेका छन्।

उनीहरूले क्याम्पस तथा आइओएम प्रशासन समक्ष ८ बुँदे माग अघि सारेका छन्। नर्सिङ क्याम्पस महाराजगन्जकी स्ववियू सभापति नोविना बस्नेतले क्याम्पस प्रशासनको नेतृत्व तहबाट भएको गम्भीर लापरबाहीको विरोधमा आफूहरू आन्दोलित भएको बताइन।

‘शैक्षिक वर्ष २०८० /८१ मा बीएमएस कार्यक्रमका लागि भन्दै विद्यार्थी भर्ना लिइयो तर पहिलो सेमेस्टरको अन्तिम परीक्षामा बीएस्सी मिडवाइफ्री भनेर सूचना जारी गरियो । एउटा विषयमा भर्ना लिने र पढाएको भन्ने तर बिचमै कोर्सको नाम परिवर्तन गर्ने कार्य विद्यार्थीको भविष्यलाई नै असर पार्ने र गम्भीर लापरबाही हो। यस सम्बन्धमा हामीले पटक पटक ध्यानाकर्षण गराउँदा समेत क्याम्पस प्रशासन नेतृत्वले बेवास्ता गर्ने र उल्टै धम्की दिने काम भयो। यसको विरोधमा हामी आन्दोलित भएका हौँ,’ स्ववियू सभापति बस्नेतले भनिन्।

त्यसो त बीएमएसका विद्यार्थीहरूले विगत १८ दिन देखि एकेडेमिक र क्लिनिकल गतिविधिहरूलाई बहिस्कार गर्दै आएका थिए।गत ५ चैत देखि भने आन्दोलनको नेतृत्व स्ववियूले गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्