एटलेटिको र डर्टमण्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



काठमाडौं ।

एटलेटिको म्याड्रिड र बोरुसिया डर्टमण्ड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन्।

गए राति सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा एटलेटिको म्याड्रिडले इन्टर मिलानलाई पेनाल्टी सुट आउटमा ३-२ गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो।

यस अघि निर्धारित ९० मिनेटको खेलमा एटलेटिकोले २-१ को नतिजा निकालेपछि खेल २-२ गोलको बराबरी भएको थियो। राउण्ड १६ को पहिलो लिगमा इन्टर मिलान १-० ले विजयी भएको थियो।

त्यसपछि ३० मिनेटको अतिरिक्त समय खेलाइएकोमा सो समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको थियो।

त्यस्तै गए राति नै सम्पन्न अर्को खेलमा बोरुसिया डर्टमण्डले पिएसभीलाई २-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो। योसँगै क्वाटरफाइनलमा पुग्ने ८ टिमको टुङ्गो लागेको छ।

एटलेटिको म्याड्रिड र डर्टमण्डसहित आर्सनल, बार्सिलोना, पिएसजी, बायर्न म्युनिख, म्यानचेस्टर सिटी र रियल म्याड्रिड यस सिजनको च्याम्पियन्स लिगको अन्तिम ८ मा पुगेका छन्। अब क्वाटरफाइनलको ड्र शुक्रबार हुने युइएफएले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्