विदेशी विनिमय सञ्चिति २० प्रतिशतले बढ्यो



काठमाडौं ।

विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले वृद्धि भई १८ खर्ब ४४ अर्ब ९४ करोड रुपियाँ पुगेको छ। असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपियाँबराबर रहेको थियो।

कुल अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० माघ मसान्तमा १८.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड पुगेको छ।

आर्थिक वर्ष २०८०/८१ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १३४५ अर्ब ७८ करोड रहेकोमा माघ मसान्तमा २०.७ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ अर्ब ९२ करोड पुगेको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १९३ अर्ब ५९ करोड रहेकोमा माघ मसान्तमा १४.२ प्रतिशतले वृद्घि भई २२१ अर्ब २ करोड कायम भएको छ। माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ।

यसैबीच समीक्षा अवधिमा चालु खाता १६१ अर्ब ६९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४० अर्ब १६ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोड ४६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको छ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २९.० प्रतिशतले कमी आई रु.३ अर्ब ८० करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.५ अर्ब १८ करोडले धनात्मक रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ३५ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ४ करोडले धनात्मक रहेको थियो ।

त्यस्तै शोधनान्तर स्थिति २९७ अर्ब ७२ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १२८ अर्ब ५५ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९७ करोड ५७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २४ करोडले बचतमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्