रेमिट्यान्स मासिक सवा खर्बले भित्रिदै



काठमाडौं ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार हाल मासिक सवा खर्ब रुपियाँ बराबरको रेमिट्यान्स देशमा भित्रिने गरेको छ । केन्द्रीय बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको सात महिनामा विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भई ८३९ अर्ब पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो।

उक्त अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २४७,०१२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १५८,५४० रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३१४,७६७ र १६७,७०८ रहेको थियो। सोही अवधिमा खुद ट्रान्सफर २० प्रतिशतले वृद्धि भई ९१० अर्ब ७४ करोड थियो।

प्रतिक्रिया दिनुहोस्